एजेन्सी । अमेरिकासँग भएको नयाँ समझदारीअन्तर्गत इरानले आगामी ६० दिनसम्म विश्व बजारमा खुला रूपमा तेल बिक्री गर्न पाउने भएको छ। साथै कतारमा रोक्का गरिएका करिब १२ अर्ब अमेरिकी डलर बराबरका कोषसमेत चरणबद्ध रूपमा उपलब्ध गराइने व्यवस्था गरिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो व्यवस्था अमेरिका–इरानबीच जारी वार्ता र तनाव कम गर्ने प्रयासको हिस्सा हो। अस्थायी सहमतिअनुसार इरानमाथिको केही तेल प्रतिबन्ध खुकुलो बनाइएको छ, जसले इरानलाई विश्व बजारमा पुनः सक्रिय रूपमा तेल निर्यात गर्ने अवसर प्रदान गर्नेछ।
विश्लेषकहरूका अनुसार उक्त ६० दिने अवधिमा इरानले अरबौं डलर आम्दानी गर्न सक्ने अनुमान गरिएको छ। इरानले यसअघि मुख्य रूपमा सीमित बजारमा र छुट दरमा तेल बिक्री गर्दै आएको थियो।
यता, इरानका लागि आर्थिक राहतका रूपमा रोक्का गरिएका सम्पत्तिमध्ये करिब १२ अर्ब डलरको कोष खुला गरिने भएको छ। यो रकम मानवीय तथा आर्थिक आवश्यकताका क्षेत्रमा प्रयोग गरिने बताइएको छ।
नयाँ समझदारीले इरानको अर्थतन्त्रमा राहत पुग्ने अपेक्षा गरिएको भए पनि यसको दीर्घकालीन प्रभाव भने आगामी वार्ता र अन्तिम सम्झौतामा निर्भर रहने विश्लेषण गरिएको छ।