एजेन्सी/लन्डन । विश्व फुटबलका महान् खेलाडीमध्ये एक क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय फुटबल टोलीबाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा समाप्त गर्ने घोषणा गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गर्दै ४१ वर्षीय रोनाल्डोले राष्ट्रिय टोलीको जर्सीलाई बिदाइ गर्ने निर्णय सुनाएका हुन्।
सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका रोनाल्डोको यो घोषणासँगै २३ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल करियर अन्त्य हुने भएको छ। पोर्चुगलको चर्चित सात नम्बर जर्सी लगाएर उनले विश्व फुटबलमा बनाएको पहिचान अब इतिहासमा सीमित हुनेछ।
आफ्नो बिदाइ सन्देशमा रोनाल्डोले राष्ट्रिय टोलीको जर्सी लगाउनु आफ्नो जीवनकै ठूलो सम्मान र जिम्मेवारी भएको बताएका छन्। उनले २३ वर्षसम्म देशको प्रतिनिधित्व गर्न पाएको अवसरप्रति कृतज्ञता व्यक्त गरेका छन्।
उनका अनुसार राष्ट्रिय टोलीबाट अलग हुने निर्णय सहज थिएन। यो निर्णय भावनात्मक रूपमा समेत कठिन भए पनि आफ्नो यात्रालाई सम्मानपूर्वक टुंग्याउने समय आएको उनले बताएका छन्।
रोनाल्डोले पोर्चुगलका लागि २३४ अन्तर्राष्ट्रिय खेल खेल्दै १४६ गोल गरेका छन्। पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल र सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत उनकै नाममा रहेको छ।
दुई दशकभन्दा बढी समय पोर्चुगलको आक्रमण सम्हालेका उनले व्यक्तिगत सफलतासँगै देशलाई ऐतिहासिक उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
सन् २००४ को युरोकपबाट अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो प्रभाव देखाउन थालेका रोनाल्डोले सन् २००६ को विश्वकपमा पोर्चुगललाई सेमिफाइनलसम्म पुर्याउन योगदान दिएका थिए।
उनको करियरको सबैभन्दा महत्वपूर्ण उपलब्धि सन् २०१६ मा प्राप्त युरोकप उपाधि हो। फ्रान्समा सम्पन्न प्रतियोगिताको फाइनलमा आयोजक फ्रान्सलाई १–० ले पराजित गर्दै पोर्चुगलले पहिलोपटक युरोपेली च्याम्पियन बन्ने सफलता हासिल गरेको थियो। चोटका कारण रोनाल्डोले फाइनल पूरा खेल्न नसके पनि कप्तानका रूपमा टोलीलाई निरन्तर हौसला दिएका थिए।
त्यसपछि पोर्चुगलले सन् २०१९ र २०२५ मा यूईएफए नेसन्स लिगको उपाधिसमेत जितेको थियो।
विश्वकप फुटबलमा पनि रोनाल्डोले आफ्नो नाम विशेष रूपमा स्थापित गरेका छन्। सन् २००६ देखि २०२६ सम्म लगातार छ संस्करणको विश्वकपमा सहभागी हुँदै उनी छवटा विश्वकप खेल्ने पहिलो पुरुष खेलाडी बनेका छन्।
विश्वकपका २७ खेलमा ११ गोल गरेका उनले लगातार छ संस्करणमा गोल गर्ने दुर्लभ उपलब्धिसमेत हासिल गरेका छन्।
यद्यपि, सन् २०२६ को विश्वकपमा पोर्चुगलको यात्रा अन्तिम १६ मै टुंगिएपछि उनले विश्वकपमा आफ्नो सहभागिता समाप्त भएको संकेत दिएका थिए।
रोनाल्डोको अन्तर्राष्ट्रिय भविष्यलाई लिएर पछिल्लो समय विभिन्न चर्चा हुँदै आएका थिए। पोर्चुगलका प्रशिक्षक जर्ज जेसससँगको सम्बन्धमा आएको तनावले पनि उनको निर्णयलाई प्रभावित गरेको अनुमान गरिएको छ।
गत अक्टोबरमा नर्वेविरुद्धको खेलमा मैदान प्रवेश गर्ने अवसर नपाएपछि उनी डेनमार्कसँगको खेलअघि राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेर क्लब फर्किएका थिए।
त्यसपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रशिक्षकसँग मतभेद रहेको संकेत गरेका थिए। त्यसबेला भने शारीरिक रूपमा सक्षम रहँदासम्म पोर्चुगलका लागि खेल्न तयार रहेको बताएका थिए।
राष्ट्रिय टोलीबाट बिदा लिने निर्णय गरे पनि रोनाल्डोले क्लब फुटबलबाट तत्काल सन्न्यास लिने घोषणा गरेका छैनन्।
स्पोर्टिङ लिस्बनबाट व्यावसायिक करियर सुरु गरेका उनले म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्ट्सजस्ता विश्वप्रसिद्ध क्लबबाट खेल्दै थुप्रै उपाधि जितेका छन्। रियल म्याड्रिडबाट उनले चारपटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए।
पाँचपटक बालोन डी’ओर जितेका रोनाल्डो सन् २०२३ देखि साउदी अरेबियाको क्लब अल नासरबाट खेलिरहेका छन्।
राष्ट्रिय टोलीबाट उनको बिदाइसँगै विश्व फुटबलको एउटा ऐतिहासिक अध्याय समाप्त हुने भएको छ। तर क्लब फुटबलमा उनको यात्रा भने तत्काल जारी रहनेछ।