काठमाडौं । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पमा परी कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने चार हजार ३०० भन्दा बढी घाइते भएका छन्। भग्नावशेषमुनि अझै धेरै मानिस फसेको आशङ्कामा उद्धार अभियान तीव्र बनाइएको छ।
संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्पले उत्तरी भेनेजुएलाका भवनहरू भत्किएका, चर्किएका र ढलेका छन्। बिहीबारसम्म पनि परकम्पहरू आइरहेका छन्।
स्वास्थ्यमन्त्री कार्लोस अल्भाराडोका अनुसार मृतकको सङ्ख्या २३५ पुगेको छ भने घाइतेको सङ्ख्या निरन्तर बढिरहेको छ। केही घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ।
सबैभन्दा बढी प्रभावित ला गुआइरा राज्यमा उद्धारकर्मी र स्थानीयवासी भग्नावशेष हटाउँदै जीवित व्यक्तिको खोजीमा जुटेका छन्। तर पर्याप्त उपकरण र दक्ष जनशक्तिको अभावले उद्धार कार्य प्रभावित बनेको छ।
काराकास नजिकैको एक बस्तीमा उद्धारको प्रतीक्षामा रहेकी एक युवतीले घण्टौँसम्म सहयोगका लागि गुहार मागे पनि समयमै उद्धार हुन नसक्दा उनको मृत्यु भएको स्थानीयवासीले बताएका छन्। अन्य प्रभावित क्षेत्रमा पनि भग्नावशेषभित्रबाट मानिसहरूको आवाज सुनिएको जनाइएको छ।
डोमिङ्गो लुसियानी अस्पतालका चिकित्सकका अनुसार धेरै बालबालिका अभिभावकविहीन अवस्थामा अस्पताल पुगिरहेका छन्। केहीको पहिचान खुलेको छ भने केहीलाई हातमा पहिचान पट्टी बाँधेर एम्बुलेन्समार्फत ल्याइएको छ।
भूकम्प प्रभावित क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको छ। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्जले प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ। यसबीच केही स्थानमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीका पसलमा लुटपाटसमेत भएको जनाइएको छ।
अन्तर्राष्ट्रिय समुदायले राहत तथा उद्धारमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। स्विट्जरल्यान्ड, स्पेन, फ्रान्स, पोर्चुगल र मेक्सिकोले उद्धार टोली पठाउने घोषणा गरेका छन्। संयुक्त राज्य अमेरिकाले दुई युद्धपोत, यातायात विमान, हेलिकप्टर परिचालन गर्नुका साथै १५ करोड अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने जनाएको छ।
चीन, भारत, ब्राजिल र इरानले पनि सहयोगको प्रस्ताव गरेका छन्। पोप लियो चौधौँले प्रारम्भिक एक लाख युरो सहायता घोषणा गर्नुभएको छ भने संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय समुदायलाई भेनेजुएलाको सहयोगमा जुट्न आग्रह गर्नुभएको छ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुख टम फ्लेचरले यो १२६ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक भएकाले व्यापक अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताउनुभएको छ।
भूकम्पका कारण ला गुआइरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भीर क्षति पुगेपछि बन्द गरिएको छ। मृतकमध्ये दुई ब्राजिलियाली, दुई चिनियाँ, एक इटालेली र एक पोर्चुगाली नागरिक रहेको सम्बन्धित देशहरूले पुष्टि गरेका छन्।
क्यारिबियन र दक्षिण अमेरिकी टेक्टोनिक प्लेटको सीमामा अवस्थित भेनेजुएलाको उत्तरी तट भूकम्पीय रूपमा संवेदनशील क्षेत्र मानिन्छ। सन् १९९७ को भूकम्पमा ७३ जनाको मृत्यु भएको थियो भने सन् १९६७ मा २३६ जनाले ज्यान गुमाएका थिए। सन् १९०० पछि आएको अहिलेको ७.५ म्याग्निच्युडको भूकम्पलाई सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ।
भूकम्पको धक्का छिमेकी कोलम्बियादेखि उत्तरी ब्राजिलसम्म महसुस गरिएको थियो। राजधानी काराकासमा त्रास फैलिँदा धेरै नागरिकले सडक र गाडीमै रात बिताएका छन्। आफ्नी छोरी बस्ने भवन ढलेको खबर पाएपछि राजधानी पुगेकी ६० वर्षीया रिटा गोमेजले भारी उपकरणमार्फत उद्धार जारी रहेको र छोरी जीवित भेटिने आशा अझै बाँकी रहेको बताउनुभएको छ।