ला ग्वाइरा, भेनेजुएला । भेनेजुएलामा बुधबार आएको दुई शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ९२० पुगेको छ। शुक्रबारसम्मको आधिकारिक विवरणअनुसार हजारौँ मानिस अझै बेपत्ता छन् भने अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई तीव्र बनाएका छन्।
संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचरका अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्प एक मिनेटको अन्तरमा आएर देशको उत्तरी क्षेत्रमा व्यापक क्षति पुर्याएका हुन्। उहाँले एएफपीसँग कुरा गर्दै ५० हजारभन्दा बढी मानिस बेपत्ता रहेको र धेरै भवन पूर्णरूपमा ध्वस्त भएको जानकारी दिनुभयो।
राजधानी काराकास नजिकको तटीय क्षेत्र ला ग्वाइरा सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँका चार अग्ला भवनसहित सयौँ अपार्टमेन्ट रहेको आवासीय परिसरमा अधिकांश संरचना पूर्ण रूपमा भत्किएका छन्।
उद्धार टोली प्रमुख नाडियोमार पोलान्कोले भग्नावशेषमा जीवित व्यक्ति भेटिने सम्भावना अत्यन्त न्यून हुँदै गएको बताउनुभयो। उहाँका अनुसार अब उद्धार टोलीको ध्यान मुख्यतः मृतकको शव निकाल्ने कार्यमा केन्द्रित भइरहेको छ।
भूकम्पपछि आन्तरिक मन्त्री डियोस्डाडो काबेल्लोले शुक्रबार राति ८ बजेदेखि सबैभन्दा बढी प्रभावित क्षेत्रमा सर्वसाधारणको प्रवेशमा प्रतिबन्ध लगाइएको घोषणा गर्नुभएको छ।
यसबीच, प्रभावित क्षेत्रमा पर्याप्त सरकारी सहायता नपुगेको भन्दै स्थानीय बासिन्दाले सरकारप्रति असन्तुष्टि जनाएका छन्। कतिपय स्थानमा परिवारका सदस्य, छिमेकी र स्वयंसेवकहरूले भारी उपकरणको अभावमा आफ्नै हातले भग्नावशेष हटाउँदै बेपत्ता आफन्तको खोजी गरिरहेका छन्।
पाँच महिनाका छोरा गाएललाई खोजिरहेकी ४० वर्षीया मार्जोस्ली सालाजारले उद्धारका लागि आवश्यक मेसिनरी नपुगेको गुनासो गर्नुभयो। उहाँकी १६ वर्षीया छोरीको शव फेला परिसकेको छ भने छोरा र भतिजी अझै बेपत्ता छन्।
"हामीलाई यहाँ तत्काल मेसिन र उद्धार उपकरण चाहिएको छ। तर अहिलेसम्म कुनै सरकारी अधिकारी यहाँ आएको देखेका छैनौँ," उहाँले भन्नुभयो।
काराकासका केही प्रभावित क्षेत्रमा स्थानीय बासिन्दाले कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजविरुद्ध नाराबाजीसमेत गरेका छन्। भग्नावशेषमा आफन्त फसेका परिवारजनले सरकारले विपद्को सामना गर्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन्।
रासस/एएफपी