युरोपमा तातो लहरको कहर : १ हजार ३ सयभन्दा बढीको मृत्यु

2.4k Shares

काठमाडौं  । युरोपमा जारी भीषण तातो लहरका कारण १ हजार ३ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार गत २१ जुनयता उच्च तापक्रमसँग सम्बन्धित अतिरिक्त मृत्युको संख्या १ हजार ३ सय नाघेको हो ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयसस ले सामाजिक सञ्जाल एक्समार्फत् गर्मीबाट हुने शारीरिक तनावलाई ‘मौन हत्यारा’को संज्ञा दिँदै युरोपका घर, विद्यालय र कार्यस्थल यस्ता चरम तापक्रम सामना गर्न पर्याप्त रूपमा तयार नरहेको बताएका छन्।

गर्मीको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जर्मनी, पोल्यान्ड र चेक गणतन्त्र लगायतका देशमा नयाँ तापक्रम रेकर्ड कायम भएको छ। मौसमविद्हरूका अनुसार यो तातो लहर पूर्वी युरोपतर्फ फैलिने क्रम जारी छ।

यता फ्रान्सको स्वास्थ्य मन्त्रालयले बुधबारयता देशभर अपेक्षाभन्दा करिब १ हजार बढी अतिरिक्त मृत्यु भएको जनाएको छ। तीमध्ये अधिकांश ६५ वर्ष वा सोभन्दा माथिका नागरिक रहेका छन् भने घरमै हुने मृत्युको संख्या पनि करिब ४० प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ।

डब्ल्यूएचओका अनुसार युरोप विश्वकै सबैभन्दा तीव्र गतिमा तातिरहेको महादेश हो। त्यहाँ तापक्रम वृद्धि विश्वव्यापी औसतको तुलनामा करिब दोब्बर गतिमा भइरहेको छ। जलवायु परिवर्तनका कारण यस्ता चरम तातो लहरहरू अब पहिलेभन्दा धेरै पटक दोहोरिन थालेको भन्दै डब्ल्यूएचओले पूर्वतयारी र अनुकूलन उपायहरूलाई प्राथमिकता दिन आग्रह गरेको छ।

सम्बन्धित समाचार