रुस–युक्रेन युद्ध चर्कियो : किभमा मिसाइल वर्षा, युक्रेनको प्रत्याक्रमण पनि तीव्र

1.6k Shares

काठमाडौं । रुस–युक्रेन युद्धमा पछिल्लो समय फेरि तनाव बढेको छ। रुसले शनिबार राजधानी किभसहित युक्रेनका विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण तीव्र पारेको छ भने युक्रेनले पनि रुसको ऊर्जा तथा सैन्य पूर्वाधारलाई लक्षित गर्दै लामो दूरीका ड्रोन आक्रमणलाई निरन्तरता दिएको छ ।

युक्रेनी वायुसेनाका अनुसार रुसले एकै रात ६ वटा ब्यालिस्टिक मिसाइल, ६ वटा क्रुज मिसाइल र १२१ वटा ड्रोन प्रहार गरेको थियो। युक्रेनले अधिकांश ड्रोन निष्क्रिय पारेको दाबी गरे पनि केही मिसाइल राजधानी किभमा खसेका छन् । आक्रमणमा कम्तीमा १० जना घाइते भएका छन् भने कार्यालय भवन, गोदाम, विद्युत् पूर्वाधार र आवासीय क्षेत्रमा क्षति पुगेको छ ।

gettyimages-1494251877.webp

यता, युक्रेनले रुसको कब्जामा रहेको क्रिमियातर्फ इन्धन आपूर्ति गर्ने मार्ग, तेल प्रशोधन केन्द्र र इन्धन ढुवानी गर्ने जहाजहरूमा ड्रोन आक्रमणलाई तीव्र बनाएको जनाएको छ। यी आक्रमणपछि रुसले डन–आजोभ जलमार्ग हुँदै हुने जहाज आवागमन अस्थायी रूपमा रोकेको छ, जसको असर अन्न निर्यातमा समेत पर्ने देखिएको छ ।

युद्धका बीच कूटनीतिक पहल जारी रहे पनि तत्काल युद्धविराम हुने सम्भावना न्यून देखिएको छ । विभिन्न अन्तर्राष्ट्रिय स्रोतका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्धको रणनीति परिवर्तन गर्ने पक्षमा नदेखिएको र डोनबास क्षेत्रमा थप नियन्त्रण कायम गर्ने प्रयासमा केन्द्रित रहेको बताइएको छ ।

1ed1b9b0-8bc3-11f0-9e15-d152589384fd.jpg.webp

यसैबीच, युक्रेनलाई थप सैन्य सहयोग जुटाउने उद्देश्यले फ्रान्समा हुने ‘कोएलिसन अफ द विलिङ’ बैठकमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नाटो महासचिव मार्क रुट्टे सहभागी हुने भएका छन् । उक्त बैठकमा युक्रेनको हवाई सुरक्षा र दीर्घकालीन सैन्य सहयोगबारे छलफल हुने अपेक्षा गरिएको छ ।

युद्ध लम्बिँदै जाँदा दुवै पक्षले आक्रमणको तीव्रता बढाइरहेका छन् । पछिल्ला घटनाक्रमले युद्ध तत्काल अन्त्य हुने सम्भावना कमजोर बनेको विश्लेषण गरिएको छ ।

russiaukraine.jpg

सम्बन्धित समाचार