विश्वकप खेलेका दक्षिण अफ्रिकी मिडफिल्डर जाडेन एडम्सको २५ वर्षमै निधन
2.6k
Shares
दक्षिण अफ्रिकाका राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जाडेन एडम्सको २५ वर्षको उमेरमा निधन भएको छ। फिफा विश्वकप २०२६ मा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका एडम्सको स्वदेश फर्किएको केही दिनमै निधन भएको हो। यद्यपि, उनको मृत्युको कारण सार्वजनिक गरिएको छैन।
एडम्सले विश्वकपको समूह चरणअन्तर्गत दक्षिण अफ्रिकाका तीनवटै खेल खेलेका थिए। उनले मेक्सिको र चेक गणतन्त्रविरुद्धको खेलमा सुरुआती ११ मा स्थान बनाएका थिए भने दक्षिण कोरियाविरुद्ध १–० को जितमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए। उक्त जितसँगै दक्षिण अफ्रिकाले इतिहासमै पहिलोपटक विश्वकपको नकआउट चरणमा स्थान बनाएको थियो। तर, अन्तिम–२३ चरणमा क्यानडासँग पराजित हुँदै टोली प्रतियोगिताबाट बाहिरिएको थियो।
विश्वकपका क्रममा चेक गणतन्त्रसँगको खेलअघि एक दिन मात्र एडम्सकी हजुरआमाको निधन भएको थियो। त्यसपछि उनले उक्त खेलको पहिलो हाफ मात्र खेलेका थिए र दोस्रो हाफमा उनको स्थानमा अर्का खेलाडी मैदान प्रवेश गरेका थिए।
व्यावसायिक फुटबलमा एडम्स दक्षिण अफ्रिकाको प्रिटोरियास्थित मामेलोडी सनडाउन्सबाट खेल्दै आएका थिए। उनले २०२५/२६ सिजनमा क्लबलाई अफ्रिकन च्याम्पियन्स लिगको उपाधि जिताउन महत्त्वपूर्ण योगदान दिएका थिए।
दक्षिण अफ्रिकी फुटबल खेलाडीहरूको आधिकारिक संस्था साउथ अफ्रिकन फुटबल प्लेयर्स युनियनले विज्ञप्ति जारी गर्दै एडम्सको निधनलाई देशको फुटबलका लागि ठूलो क्षति भएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “दक्षिण अफ्रिकी फुटबलले एक प्रतिभाशाली खेलाडी, खेलप्रतिको समर्पित सेवक र अझै धेरै योगदान दिन बाँकी रहेको एक युवा प्रतिभा गुमाएको छ।”
दक्षिण अफ्रिकाका खेलकुद मन्त्री गेइटन म्याकेन्जीले पनि गहिरो दुःख व्यक्त गर्दै एडम्सको परिवार, सहकर्मी र समर्थकप्रति समवेदना प्रकट गरेका छन्। उनले एडम्सलाई राष्ट्रिय टोली ‘बाफाना बाफाना’का उज्ज्वल भविष्यका खेलाडीका रूपमा स्मरण गरेका छन्।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत एडम्सप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । स्टेलेनबोस्च एफसीको युवा एकेडेमीबाट फुटबल यात्रा सुरु गरेका एडम्स जनवरी २०२५ मा मामेलोडी सनडाउन्समा आबद्ध भएका थिए । उनले सन् २०२२ मा मोजाम्बिकविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। दक्षिण अफ्रिकाका लागि उनले १३ अन्तर्राष्ट्रिय खेल खेल्दै दुई गोल गरेका थिए, जुन दुवै गोल सन् २०२६ को विश्वकप छनोट प्रतियोगितामा गरेका थिए ।