राजधानीलाई पानी दिने सुन्दरीजलमै खानेपानीको हाहाकार, स्थानीय अझै धाराको भरमा

1.2k Shares

ठमाडौं । राजधानी काठमाडौंमा दैनिक वितरण हुने मेलम्चीको खानेपानी सुन्दरीजलमा प्रशोधन भएर पुग्ने भए पनि सोही क्षेत्रका स्थानीयवासी भने वर्षौंदेखि स्वच्छ खानेपानीको अभाव झेल्न बाध्य छन्।

गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका विभिन्न बस्तीमा नियमित खानेपानी आपूर्ति नहुँदा स्थानीय अझै ढुङ्गेधारा, कुवा र सार्वजनिक धाराको भर पर्नुपर्ने अवस्था रहेको छ। पानीको मुहान क्षेत्रमै बसोबास गर्ने नागरिकले आधारभूत खानेपानी सेवाबाट वञ्चित हुनुपरेको भन्दै स्थानीय तथा जनप्रतिनिधिले पटक–पटक सरकारको ध्यानाकर्षण गराए पनि समस्या समाधान हुन सकेको छैन।

गत साता बसेको प्रतिनिधिसभाको खानेपानी तथा पूर्वाधारसम्बन्धी समितिको बैठकमा काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डेले गोकर्णेश्वर क्षेत्रको खानेपानी समस्या समाधान नभए मेलम्चीको पानी राजधानीमा वितरण हुन नदिने चेतावनी दिनुभएको थियो।

शनिबार सांसद पाण्डेले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रतिनिधिसँग छलफल गर्दै स्थानीयको समस्या तत्काल समाधान गर्न आवश्यक पहल गर्न निर्देशन दिनुभयो।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट २७.५ किलोमिटर सुरुङमार्फत ल्याइने मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन गरी काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा वितरण गरिन्छ। बाग्मती नदीको पानी पनि यही केन्द्रबाट प्रशोधन भएर वितरण हुने भए पनि स्रोत क्षेत्रकै बासिन्दाले पर्याप्त खानेपानी नपाउनु विडम्बनापूर्ण रहेको स्थानीयको भनाइ छ।

कागेश्वरी मनोहरा नगरपालिका–३ भद्रवासकी सावित्री सापकोटाका अनुसार १० लिटर पानी भर्न गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारस्थित सार्वजनिक धारासम्म करिब आधा घण्टा पैदल पुग्नुपर्ने र पालो कुर्दा दुई घण्टासम्म समय खर्चिनुपर्ने बाध्यता छ। “धारामा सधैँ लामो लाइन हुन्छ, घण्टौँ पर्खिएपछि मात्रै पानी पाइन्छ,” उहाँले गुनासो गर्नुभयो।

स्थानीय केशवप्रसाद पुडासैनीले नगरपालिकाले विभिन्न खानेपानी आयोजना सम्पन्न गरेको दाबी गरे पनि दिगो वितरण प्रणाली नहुँदा संविधानले सुनिश्चित गरेको स्वच्छ खानेपानीको अधिकारबाट नागरिक वञ्चित भइरहेको बताउनुभयो।

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले नगरपालिकाले आफ्नै बजेटबाट पाइपलाइन विस्तार गरी केयुकेएललाई हस्तान्तरण गरे पनि अपेक्षाअनुसार पानी वितरण हुन नसकेको स्वीकार गर्नुभयो।

स्थानीय प्रेम श्रेष्ठले सुन्दरीजलस्थित पुरानो बाग्मती पानी प्रशोधन केन्द्र लामो समयदेखि प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा स्थानीय क्षेत्रमा स्वच्छ पानी वितरण प्रभावित भएको बताउँदै केन्द्रको तत्काल मर्मत गरी नियमित सेवा सञ्चालन गर्न माग गर्नुभयो।

केयुकेएलका प्रबन्ध निर्देशक रामरतन साहले सुन्दरीजल क्षेत्रको समस्या पुरानो वितरण प्रणालीका कारण भएको स्वीकार गर्नुभयो। पञ्चायतकालमा निर्माण गरिएको पाइपलाइन अहिलेको जनघनत्व धान्न नसक्ने अवस्थामा पुगेकाले नयाँ वितरण प्रणाली निर्माण गर्ने विषयमा सांसद पाण्डेसँग सहमति भएको उहाँले जानकारी दिनुभयो।

यता, अत्तरखेलका स्थानीय नोर्साङ शेर्पाले सुन्दरीजलको पुरानो बाग्मती पानी प्रशोधन केन्द्र प्रभावकारी रूपमा सञ्चालन नहुँदा बौद्ध क्षेत्रसम्म पुग्ने पानी धमिलो हुने गरेको गुनासो गर्नुभयो। उहाँका अनुसार यस्तो पानी प्रयोग गर्दा कपडा राम्रोसँग सफा नहुने र नुहाएपछि शरीर चिलाउने समस्या समेत देखिने गरेको छ।

स्थानीयवासी र नागरिक समाजले एक दशकदेखि यो समस्या उठाउँदै आए पनि सम्बन्धित निकायबाट प्रभावकारी समाधान हुन नसकेको भन्दै स्रोत क्षेत्रका बासिन्दाले तत्काल सुधारको माग गरेका छन्।

सम्बन्धित समाचार