ट्रम्पको नयाँ निर्णयले विश्व व्यापारमा तरंग, होर्मुज हुँदै जाने कार्गोमा २० प्रतिशत शुल्क

4k Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमार्फत ढुवानी हुने सबै मालसामानमा २० प्रतिशत शुल्क लगाउने घोषणा गर्नुभएको छ ।

विश्वकै महत्वपूर्ण सामुद्रिक व्यापारिक मार्गमध्ये एक मानिने होर्मुजमा अमेरिकाले सुरक्षा जिम्मेवारी लिने र त्यसबापत शुल्क उठाउने घोषणा गरेसँगै अन्तर्राष्ट्रिय स्तरमा नयाँ बहस सुरु भएको छ ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत अमेरिकाले अबदेखि स्ट्रेट अफ होर्मुजको सुरक्षाको जिम्मेवारी सम्हाल्ने र सोही आधारमा सबै कार्गो ढुवानीमा २० प्रतिशत शुल्क लागू गरिने जानकारी दिनुभएको हो । उहाँका अनुसार उक्त व्यवस्था अमेरिकी पूर्वी समयअनुसार मंगलबार साँझ ४ बजेदेखि कार्यान्वयनमा आउनेछ । 

ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले इरानमाथि सैन्य दबाब बढाइरहेको, इरानको आक्रामक क्षमता कमजोर पार्ने प्रयास जारी रहेको तथा होर्मुज क्षेत्रमा नियन्त्रण सुदृढ बनाइरहेको दाबी गर्नुभयो । यद्यपि, इरानसँग शान्ति सम्झौताको सम्भावना भने अझै खुला रहेको उहाँको भनाइ थियो ।

यसैबीच, अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले राष्ट्रपति ट्रम्पको निर्देशनमा सोमबार साँझ इरानका केही सैन्य लक्ष्यमाथि नयाँ आक्रमण गरिएको जनाएको छ। त्यसको प्रतिक्रियास्वरूप इरानी सरकारी सञ्चारमाध्यमहरूले कुवेतस्थित अमेरिकी सैन्य सम्पत्तिलाई निशाना बनाइएको दाबी गरेका छन् ।

ट्रम्पको घोषणापछि इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले होर्मुजको सुरक्षाबापत शुल्क लिन सक्ने भनाइमा आंशिक सहमति जनाउँदै इरान नै उक्त जलमार्गको वास्तविक संरक्षक रहेको दाबी गर्नुभएको छ । उहाँले प्रस्तावित २० प्रतिशत शुल्क भने अत्यधिक भएको प्रतिक्रिया दिनुभएको छ ।

उता, संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) ले अन्तर्राष्ट्रिय जलमार्ग भएर आवतजावत गर्ने जहाजबाट अनिवार्य शुल्क उठाउने कानुनी आधार नरहेको स्पष्ट पारेको छ ।

स्ट्रेट अफ होर्मुज विश्वको सबैभन्दा संवेदनशील समुद्री मार्गमध्ये एक हो । विश्वको करिब २५ प्रतिशत कच्चा तेल र २० प्रतिशत तरलीकृत प्राकृतिक ग्यास यही मार्ग हुँदै ढुवानी हुने भएकाले अमेरिकाको नयाँ घोषणाले विश्व ऊर्जा बजार, अन्तर्राष्ट्रिय व्यापार र समुद्री सुरक्षामा थप प्रभाव पार्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार