गोरखामा ५८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने अपेक्षा

1.2k Shares

गोरखा । समयमै मनसुन सक्रिय भएसँगै गोरखा जिल्लामा धान रोपाइँले उल्लेखनीय गति लिएको छ। कृषि विकास कार्यालयका अनुसार हालसम्म जिल्लामा करिब ५८ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ।

कार्यालयका सूचना अधिकारी सुमन भट्टराईका अनुसार यस वर्ष जिल्लाभर १० हजार ५०० हेक्टर क्षेत्रफलमा बर्खे धान खेती गर्ने लक्ष्य राखिएको छ। गत वर्ष असार मसान्तसम्म ४० देखि ४५ प्रतिशत मात्रै रोपाइँ भएको थियो भने यस वर्ष समयमै वर्षा भएकाले किसानले सहज रूपमा रोपाइँ गरिरहेका छन्।

मौसम अनुकूल रहे आगामी केही दिनभित्र जिल्लाभर धान रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ। कृषि विकास कार्यालयले यस वर्ष करिब ९५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरेको छ।

कृषि प्राविधिकहरूका अनुसार समयमा परेको वर्षाले रोपाइँ मात्र होइन, धान उत्पादनमा पनि सकारात्मक प्रभाव पर्ने सम्भावना छ।

गोरखाका दरौँदी, सिर्दिफाँट, शेराफाँट, ज्यादुलफाँट, टारिफाँट, दर्बुङफाँट र बोर्लाङफाँट जिल्लाका प्रमुख धान उत्पादन क्षेत्र मानिन्छन्।

यद्यपि, उत्तरी गोरखाका चुमनुब्री र धार्चे गाउँपालिकाका हिमाली तथा उच्च पहाडी क्षेत्रमा भौगोलिक अवस्थाका कारण धानखेती नहुने कृषि विकास कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार