भाग्यमानी निलो जर्सीमा इङ्ल्यान्डविरुद्ध उत्रने अर्जेन्टिना, फिफाबाट पायो अनुमति

6.3k Shares

काठमाडौं । लियोनल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनी फुटबल टोलीले इङ्ल्यान्डविरुद्ध हुने सेमिफाइनल खेलमा आफ्नो भाग्यमानी मानिने गाढा निलो अवे जर्सी लगाउने अनुमति पाएको छ ।

अर्जेन्टिनाले जर्सी परिवर्तनका लागि फिफासमक्ष औपचारिक अनुरोध गरेपछि त्यसलाई स्वीकृति दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सेमिफाइनलका लागि प्रतियोगिताको तालिकाअनुसार इङ्ल्यान्डलाई ‘टोली ए’ र अर्जेन्टिनालाई ‘टोली बी’ तोकिएको थियो ।

यसअनुसार अर्जेन्टिनाले स्वाभाविक रूपमा अवे जर्सी लगाउने अवस्था बनेको थियो। यद्यपि इङ्ल्यान्डले जर्सी परिवर्तनको माग गर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै अर्जेन्टिना फुटबल संघ (एएफए) ले फिफासँग गाढा निलो अवे जर्सी प्रयोग गर्न औपचारिक अनुमति मागेको थियो ।

बीबीसीका अनुसार फिफाले अर्जेन्टिनाको अनुरोध स्वीकार गरिसकेको छ । अब बिहीबार राति हुने सेमिफाइनलमा इङ्ल्यान्डले आफ्नो परम्परागत सेतो घरेलु जर्सी लगाउनेछ भने अर्जेन्टिना गाढा निलो अवे जर्सीमा मैदान उत्रनेछ ।

किन विशेष छ अर्जेन्टिनाको निलो जर्सी ?

अर्जेन्टिनाको फुटबल इतिहासमा गाढा निलो जर्सीलाई विशेष रूपमा भाग्यमानी मानिन्छ। विशेषगरी विश्वकपमा इङ्ल्यान्डविरुद्धका केही अविस्मरणीय जित यही जर्सीसँग जोडिएका छन् ।

सन् १९८६ को विश्वकप क्वार्टरफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २–१ ले हराउँदा महान् खेलाडी डिएगो म्याराडोनाले चर्चित ‘ह्यान्ड अफ गड’ र ‘गोल अफ द सेन्चुरी’ गरेका थिए। त्यसबेला पनि अर्जेन्टिनाले निलो जर्सी लगाएको थियो ।

त्यसपछि सन् १९९८ को विश्वकपमा पनि अर्जेन्टिनाले निलो जर्सीमै इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्को ऐतिहासिक सफलता हात पारेको थियो ।

यद्यपि निलो जर्सीले सधैं सफलता मात्रै दिएको भने छैन। सन् १९६२ मा पहिलोपटक यही जर्सीमा इङ्ल्यान्डसँग खेलेको अर्जेन्टिना ३–१ ले पराजित भएको थियो । साथै सन् २००५ मा भएको मैत्रीपूर्ण खेलमा पनि अर्जेन्टिना २–१ ले अघि रहेकामा माइकल ओवेनले अन्तिम समयमा दुई गोल गर्दै इङ्ल्यान्डलाई ३–२ को रोमाञ्चक जित दिलाएका थिए ।

अर्कोतर्फ, अर्जेन्टिनाले आफ्नो परम्परागत आकाशे निलो–सेतो धर्के घरेलु जर्सी लगाएर विश्वकपमा इङ्ल्यान्डसँग खेलेका दुवै खेल गुमाएको इतिहास छ । सन् १९६६ र २००२ को विश्वकपमा इङ्ल्यान्डले दुवैपटक १–० को जित निकालेको थियो ।

जारी प्रतियोगितामा भने अर्जेन्टिनाले गाढा निलो अवे जर्सी अहिलेसम्म एकपटक मात्रै प्रयोग गरेको छ। समूह चरणमा जोर्डनविरुद्धको खेलमा टोली यही जर्सीमा मैदान उत्रिएको थियो ।dfsadgfjhghjsdfaf-ssfdsd-1784003101.jpeg

सम्बन्धित समाचार