काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको शीर्ष सैन्य नेतृत्व लगभग समाप्त भइसकेको दाबी गर्दै इरानका सर्वोच्च नेता अयातुल्ला अली खमेनीका छोरा मोजताबा खमेनी हाल ‘९० प्रतिशत निष्क्रिय’ अवस्थामै रहेको टिप्पणी गर्नुभएको छ।
फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीले इरानको रक्षा संरचनामा गम्भीर क्षति पुर्याएको दाबी गर्नुभयो। उहाँका अनुसार इरानको नौसैनिक तथा वायु शक्ति, हवाई प्रतिरक्षा प्रणाली र सैन्य नेतृत्वको ठूलो हिस्सा नष्ट भइसकेको छ।
ट्रम्पले प्रमुख इरानी सैन्य कमान्डरहरू कारबाहीका क्रममा मारिएको दाबी गर्दै सर्वोच्च नेता अयातुल्ला अली खमेनी फेब्रुअरीको अन्त्यतिर भएको अमेरिका–इजरायलको हवाई आक्रमणमा मारिएको आफ्नो पुरानो दाबी पनि दोहोर्याउनुभयो । साथै, मोजताबा खमेनी पनि उक्त आक्रमणबाट गम्भीर रूपमा प्रभावित भएको र अझै उपचाररत रहेको बताउनुभयो। यस महिनाको सुरुमा इरान र इराकमा आयोजित सार्वजनिक अन्त्येष्टि कार्यक्रममा उनी अनुपस्थित रहेको विषयलाई पनि ट्रम्पले आफ्नो दाबीको आधारका रूपमा प्रस्तुत गर्नुभयो।
यी अभिव्यक्ति अमेरिका र इरानबीच सप्ताहन्तमा पुनः मिसाइल आक्रमण आदानप्रदान भएपछि सार्वजनिक भएका हुन्। पछिल्ला घटनाक्रमले मध्यपूर्वमा क्षेत्रीय तनाव अझ बढाएको छ।
यसैबीच ट्रम्पले अमेरिकाले हर्मुज जलघाँटीमा पुनः समुद्री नाकाबन्दी लागू गर्ने तथा त्यहाँबाट आवतजावत गर्ने व्यापारिक जहाजबाट शुल्क उठाउने नीति अघि बढाएको जानकारी दिनुभयो। उहाँले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत अमेरिका अब हर्मुज जलघाँटीको सुरक्षाको जिम्मेवारी लिने बताउँदै इरानी जहाज तथा इरानसँग सम्बन्धित कार्गोको आवतजावत रोक्ने, तर अन्य मुलुकका जहाजलाई स्वतन्त्र रूपमा आवतजावत गर्न दिने उल्लेख गर्नुभयो।
ट्रम्पले हर्मुज जलघाँटी प्रयोग गर्ने अन्तर्राष्ट्रिय कार्गोबाट मूल्यको २० प्रतिशत बराबर प्रतिपूर्ति शुल्क उठाउने प्रस्तावसमेत अघि सार्दै रणनीतिक समुद्री मार्गको सुरक्षा खर्च अन्तर्राष्ट्रिय व्यापारिक साझेदारहरूले पनि वहन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
यता, इरानका विदेशमन्त्री अब्बास अराघचीले भने ट्रम्पको प्रस्ताव अस्वीकार गर्दै हर्मुज जलघाँटीको सुरक्षा गर्ने ऐतिहासिक र कानुनी जिम्मेवारी इरानकै रहेको प्रतिक्रिया दिनुभएको छ। उहाँले २० प्रतिशत शुल्कको प्रस्ताव अत्यधिक भएको टिप्पणी गर्दै इरानले अन्तर्राष्ट्रिय समुद्री मार्गमा निष्पक्ष रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्ने बताउनुभयो।
हर्मुज जलघाँटीको नियन्त्रण, सुरक्षा र समुद्री आवागमनलाई लिएर अमेरिका र इरानबीच आरोप–प्रत्यारोप तीव्र बन्दै गएको छ। विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्गका रूपमा रहेको हर्मुज जलघाँटीलाई लिएर दुवै पक्षले आ–आफ्ना दाबी थप आक्रामक रूपमा अघि बढाइरहेका छन्।