काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जेडन एडम्सको मृत्युको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । फिफा विश्वकप खेलेर स्वदेश फर्किएको केही समयपछि उनी केप टाउनस्थित एक घरमा मृत फेला परेका हुन् ।
२५ वर्षीय एडम्सको शव केप टाउनको स्कट्स क्लुफ क्षेत्रमा रहेको एक घरमा फेला परेको दक्षिण अफ्रिकी प्रहरीले जनाएको छ । दक्षिण अफ्रिकन फुटबल खेलाडी संघले शनिबार उनको निधन भएको पुष्टि गरे पनि मृत्युको कारण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
विश्वकपका क्रममा चेक गणतन्त्रविरुद्धको खेलअघि एक दिन मात्रै उनकी हजुरआमा मारियानाको निधन भएको थियो। पारिवारिक शोकका बाबजुद उनले राष्ट्रिय टोलीका लागि समर्पित प्रदर्शन गर्दै विश्वकपमा तीनमध्ये दुई खेलमा सुरुआती ११ मा स्थान बनाएका थिए ।
एडम्स चेक गणतन्त्रसँग १–१ को बराबरी भएको खेल तथा मेक्सिकोसँग २–० ले पराजित भएको खेलमा सुरुआती टोलीमा थिए । दक्षिण कोरियाविरुद्ध १–० को जितमा भने उनी वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । जुन २८ मा क्यानडासँग पराजित हुँदै दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिएको अन्तिम खेलमा भने एडम्स बेन्चमै सीमित भएका थिए ।
प्रहरीले घटनाको कारण खुलाउन अनुसन्धान अघि बढाएको जनाएको छ । स्रोत : अल जजिरा