काठमाडौं । प्रतिनिधिसभा सदस्य अम्बिकादेवी सङ्ग्रौलाले मुलुकको विकास कुनै एक व्यक्तिको इच्छाअनुसार नभई कानुन, संविधान र स्थापित विधि–प्रक्रियाअनुसार मात्रै सम्भव हुने बताएकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सङ्ग्रौलाले राज्य सञ्चालनमा कानुनी शासनको पालना अनिवार्य रहेको उल्लेख गर्दै सरकारले स्थापित विधि र प्रक्रियालाई बेवास्ता गर्न नहुने धारणा राखिन्। उनले व्यक्तिकेन्द्रित निर्णय र लोकप्रियतामुखी गतिविधिले दीर्घकालीन रूपमा मुलुकलाई सही दिशामा अघि बढाउन नसक्ने बताइन्।
सांसद सङ्ग्रौलाले लोकतान्त्रिक व्यवस्थामा कानुनको सर्वोच्चता कायम राख्दै संस्थागत प्रणालीलाई बलियो बनाउनु आवश्यक रहेको उल्लेख गरिन्। उनले सरकारले कानुनविपरीत कुनै पनि कदम चाल्न नहुने चेतावनी दिँदै सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरिन्।