काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले २०२६ फिफा विश्वकपको फाइनल खेल सञ्चालनका लागि स्लोभेनियाका अनुभवी रेफ्री स्लाभ्को भिन्चिचलाई मुख्य रेफ्री नियुक्त गरेको छ।
अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा सोमबार हुने स्पेन र अर्जेन्टिनाबीचको उपाधि भिडन्तमा ४६ वर्षीय भिन्चिचले खेल सञ्चालन गर्नेछन्।
उनलाई सहायक रेफ्रीका रूपमा स्लोभेनियाकै टोमाज क्लान्चनिक र आन्द्राज कोभाचिचले साथ दिनेछन् भने जोर्डनका अधाम मखादमेह चौथो अधिकारी रहने फिफाले जनाएको छ।
युरोपका अनुभवी रेफ्रीमध्येका एक मानिने भिन्चिचले यसअघि २०२४ को यूईएफए च्याम्पियन्स लिग फाइनलमा रियल म्याड्रिड र बोरुसिया डर्टमुन्डबीचको खेल सञ्चालन गरेका थिए। उनले २०२२ को यूईएफए युरोपा लिग फाइनलको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
विश्वकपमा पनि उनी दुवै टोलीका लागि परिचित रेफ्री हुन्। कतारमा भएको २०२२ विश्वकपमा उनले अर्जेन्टिना र साउदी अरेबियाबीचको समूह चरणको खेल सञ्चालन गरेका थिए, जहाँ अर्जेन्टिना २–१ ले पराजित भएको थियो। यस्तै, युरो २०२४ मा स्पेनले इटालीलाई १–० ले हराएको खेलमा पनि भिन्चिच नै मुख्य रेफ्री थिए।
यसपटक स्पेन दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिँदा अर्जेन्टिना भने कतार २०२२ को उपाधि रक्षा गर्दै इतिहासमा चौथो पटक विश्वकप जित्ने अभियानमा रहनेछ।