१० वर्षदेखि अधुरो गड्गडीघाट पुलः ६ पटक म्याद थप्दा पनि ६० प्रतिशत मात्रै काम

1.6k Shares

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–४ को मधुवन र नवलपुरको बुलिङटार गाउँपालिका–४ को कोखेटार जोड्ने कालीगण्डकी नदीमाथि निर्माणाधीन गड्गडीघाट पक्की पुल निर्माण सुरु भएको १० वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। निर्माण कम्पनीको चरम ढिलासुस्तीका कारण राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरसँग जोडिने रणनीतिक महत्वको यो पुल अझै अलपत्र अवस्थामा छ।

पुल निर्माणमा भएको ढिलाइप्रति चासो व्यक्त गर्दै तनहुँ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले निर्माणस्थलको निरीक्षण गरी कामलाई तत्काल गति दिन निर्माण कम्पनी र सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। निरीक्षणका क्रममा उहाँले हालसम्मको प्रगति, ढिलाइका कारण र बाँकी कामका विषयमा जानकारी लिँदै निर्धारित समयमै निर्माण सम्पन्न गर्न दबाब दिनुभयो।

पुल सेक्टर कार्यालय पोखराका इन्जिनियर विदुर सुवेदीका अनुसार पुल निर्माणका लागि हालसम्म छ पटक म्याद थपिएको छ। छैटौँ पटक थपिएको म्याद पनि गत चैत मसान्तमै सकिए पनि हालसम्म भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति ५१ प्रतिशत मात्र पुगेको छ।

२०७३ साल असार २९ गते २६ करोड ८२ लाख ८६ हजार ४३२ रुपैयाँको लागतमा लुम्बिनी, स्वच्छन्द र नागार्जुन निर्माण कम्पनीको संयुक्त उपक्रम (जेभी) ले ठेक्का लिएको थियो। निर्माण कम्पनीले काम पूरा नगरी १३ करोड रुपैयाँभन्दा बढी भुक्तानी भने लिइसकेको पुल सेक्टर कार्यालयले जनाएको छ।

निर्माणको जिम्मा पाएका तीनवटै कम्पनीबीच समन्वय अभाव हुँदा २०७६ देखि २०८२ सालसम्म पुल निर्माण लगभग ठप्प भएको थियो। यस वर्ष केही काम अघि बढे पनि अहिले फेरि मूल्यवृद्धि र महँगीको बहाना देखाउँदै निर्माण कार्य सुस्त बनाइएको इन्जिनियर सुवेदीले बताउनुभयो।

हालसम्म २९० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको पुलमा चारवटा पिलर मात्र निर्माण भएका छन्। पाँच स्पान रहने डिजाइन गरिएको पुलमध्ये एउटा स्पानको काम मात्रै सम्पन्न भएको छ।

कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार–४ को कोखे बजारबाट करिब १०० मिटर उत्तरतर्फ निर्माण भइरहेको यो पुल पूर्व–पश्चिम राजमार्गको गैँडाकोट, कावासोती र दलदलेबाट अर्खला–कोखे हुँदै तनहुँको ऋषिङ, भिमाद र प्रदेश राजधानी पोखरासम्मको यात्रा सहज बनाउने महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ।

हाल यात्रुहरू कोखेबाट १३ किलोमिटर पश्चिमतर्फको डेढगाउँ हुँदै भिमाद पुग्न बाध्य छन्। पुल निर्माण सम्पन्न भए नवलपुरको कावासोतीबाट पोखरा पुग्ने दूरी करिब १५ किलोमिटरले छोटिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार