१० गोलसहित एमबाप्पेको ऐतिहासिक कीर्तिमान, लगातार दोस्रो गोल्डेन बुट
1.1k
Shares
काठमाडौं । फिफा विश्वकप २०२६ मा फ्रान्सलाई उपाधिसम्म पुर्याउन नसके पनि स्टार फरवार्ड किलियन एमबाप्पेले व्यक्तिगत प्रदर्शनमा ऐतिहासिक सफलता हात पारेका छन्। प्रतियोगिताभर १० गोल गर्दै उनले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ जित्दै विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका हुन्।
फ्रान्स सेमिफाइनलमा स्पेनसँग पराजित भएपछि तेस्रो स्थानका लागि भएको खेलमा इङ्गल्यान्डसँग ६–४ ले हार्यो। हारका बाबजुद एमबाप्पेले उक्त खेलमा दुई गोल गर्दै आफ्नो कुल गोल संख्या १० पुर्याएका थिए।
यस उपलब्धिसँगै एमबाप्पे सन् २०२२ र २०२६ गरी लगातार दुई विश्वकपमा गोल्डेन बुट जित्ने इतिहासकै पहिलो खेलाडी बनेका छन्। उनले ८ गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनल मेसी, ७ गोल गरेका नर्वेका अर्लिङ हालान्ड तथा ६–६ गोल गरेका ह्यारी केन र ओसमान डेम्बेलेलाई पछि पार्दै सर्वाधिक गोलकर्ताको सम्मान जिते।
एमबाप्पेले यस विश्वकपमा सेनेगल र इराकविरुद्ध समान दुई–दुई गोल गरेका थिए। त्यसपछि स्विडेनविरुद्ध दुई, पाराग्वेविरुद्ध एक, मोरक्कोविरुद्ध एक तथा तेस्रो स्थानको खेलमा इङ्गल्यान्डविरुद्ध थप दुई गोल गर्दै प्रतियोगिता १० गोलसहित टुंग्याए।
यसअघि कतारमा सम्पन्न २०२२ विश्वकपमा पनि एमबाप्पेले फाइनलमा ह्याट्रिकसहित आठ गोल गर्दै गोल्डेन बुट जितेका थिए। दुई संस्करणमा लगातार सर्वाधिक गोलकर्ता बन्दै उनले विश्व फुटबलमा आफ्नो नाम ऐतिहासिक रूपमा दर्ज गराएका छन्।