काठमाडौँ । विश्वकप विजेता स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले विश्वकप उपाधिको यात्रालाई आफ्नो जीवनकै सबैभन्दा गर्विलो उपलब्धिमध्ये एक भएको बताएका छन्। फाइनलमा अर्जेन्टिनामाथि जित निकाल्दै टोलीलाई विश्वकप च्याम्पियन बनाएपछि ६५ वर्षीय प्रशिक्षकले आफू अत्यन्त भावुक र गर्वान्वित भएको प्रतिक्रिया दिए।
‘इमान्दारितापूर्वक भन्ने हो भने अहिले म अत्यन्त गर्व महसुस गरिरहेको छु,’ उनले भने, ‘यो टोलीलाई विश्वकप उपाधिसम्म पुर्याउन पाउनु मेरा लागि ठूलो सौभाग्य हो।’ यो सफलतासँगै डे ला फुएन्ते विश्वकप जित्ने सबैभन्दा पाका उमेरका प्रशिक्षक बनेका छन्।
फाइनलमा निर्णायक गोल गरेका फेरान टोरेसले पनि जितलाई सम्पूर्ण स्पेनी जनताको सफलताका रूपमा व्याख्या गरे। ‘यो गोल वास्तवमा चार करोड ७० लाख स्पेनी नागरिकले गरेका हुन्,’ उनले स्पेनको जनसंख्यालाई संकेत गर्दै भने।
टोरेसले अर्जेन्टिनाका कप्तान लियोनल मेसीको उपस्थितिले दबाब सिर्जना गरे पनि स्पेनले सामूहिक खेलमार्फत सफलता हासिल गरेको बताए। ‘मेसीजस्ता खेलाडी विपक्षीमा हुँदा सबैलाई दबाब हुन्छ। तर हामीले फेरि पनि टोलीका रूपमा उत्कृष्ट प्रदर्शन गर्यौं र आफ्नै खेलमा विश्वास राख्यौं,’ उनले भने।
विश्वकपको उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल जितेका रोड्रीले पनि उपाधिपछि आफ्नो खुसी शब्दमा व्यक्त गर्न गाह्रो भएको बताए। ‘मलाई अहिले बादलमाथि उडिरहेको जस्तो महसुस भइरहेको छ,’ उनले भने, ‘खेलअघि मैले सबै खेलाडीलाई विपक्षीसँग नडराई आँखा जुधाएर खेल्न भनेको थिएँ। लगातार विश्वकप जित्नु असाधारण उपलब्धि हो।’
उता, फाइनलमा पराजित अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले हारप्रति दुःख व्यक्त गरे पनि आफ्ना खेलाडीहरूको समर्पणप्रति गर्व रहेको बताए।
‘म दुःखी छु, तर हामीले आफ्नो सम्पूर्ण क्षमता र हृदय लगाएर खेलेका थियौँ भन्नेमा कुनै शंका छैन। यी खेलाडीहरूले अन्तिम क्षणसम्म गरेको संघर्षप्रति म सधैँ आभारी रहनेछु,’ स्कालोनीले भने।
उनले स्पेन उत्कृष्ट टोली रहेको स्वीकार गर्दै अर्जेन्टिनाको विश्वकप यात्रा पनि कम उपलब्धिपूर्ण नभएको उल्लेख गरे।
‘उनीहरू साँच्चिकै उत्कृष्ट थिए। यहाँसम्म आइपुग्न हामीले निकै कठिन यात्रा पार गरेका छौँ। त्यस यात्राको मूल्य र खेलाडीहरूले गरेको योगदान म कहिल्यै बिर्सने छैन,’ उनले भने।

स्कालोनीले खेलकुदमा जित र हार दुवैलाई सम्मानपूर्वक स्वीकार गर्न सक्नुपर्ने धारणा पनि राखे। ‘जित्दा मात्र होइन, हार्दा पनि महान बन्न जान्नुपर्छ। आज हामीले हार स्वीकार गरेर पनि त्यो देखाएका छौँ,’ उनले भने।
उनले फाइनलको हारले अर्जेन्टिनाले पछिल्ला वर्षहरूमा हासिल गरेका सफलतालाई ओझेलमा नपार्ने उल्लेख गर्दै देशवासीलाई टोलीले अन्तिम क्षणसम्म पूरा समर्पणका साथ खेलेको सन्देश दिए।
‘हामी खेल हार्यौं र त्यसलाई स्वीकार गर्छौं। तर यसले हामीले अहिलेसम्म गरेका उपलब्धिहरू मेटाउँदैन। म देशलाई भन्न चाहन्छु– हामीले अन्तिमसम्म हृदयदेखि खेलेका थियौँ,’ स्कालोनीले भने।