मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि अमर्यादित व्यवहार गरेको आरोपमा शिक्षक तथा कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा–१२ का ३५ वर्षीय अबिरल मास्के रहेका छन्। उनीहरूमाथि प्राप्त उजुरी र सामाजिक सञ्जालमा सार्वजनिक भएका गुनासाका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले अनुसन्धानका क्रममा अन्य व्यक्तिको संलग्नता पुष्टि भए कानुनबमोजिम कारबाही गरिने बताएका छन्।
घटनापछि सुन्दरहरैँचा नगरपालिकाले विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निष्पक्ष छानबिन गर्न र आरोपितलाई तत्काल निलम्बन गर्न विद्यालयलाई निर्देशन दिएको छ। नगरपालिकाको निर्देशनपछि विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघको संयुक्त बैठकले अनुसन्धान सम्पन्न नभएसम्म आरोप लागेका प्रदीप भट्टराई, भीमप्रसाद नेपाल र अबिरल मास्केलाई निलम्बन गर्ने निर्णय गरेको विद्यालयले जनाएको छ। विद्यालयका अनुसार नेपाल संगीत प्रशिक्षक, मास्के शिक्षक तथा भट्टराई विद्यालय बसका चालक हुन्।
सामाजिक सञ्जालमा केही छात्राले शिक्षक तथा कर्मचारीबाट अनुचित व्यवहार भएको अनुभव सार्वजनिक गरेपछि घटना बाहिर आएको थियो। त्यसयता नगर बाल सञ्जाल, कानुन विद्यार्थी समाजलगायत विभिन्न संघसंस्थाले निष्पक्ष छानबिन, पीडितको सुरक्षा र दोषी प्रमाणित भए कडा कानुनी कारबाहीको माग गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।