अर्जेन्टिनाको उपाधि रक्षा किन असफल भयो ? हारका पाँच प्रमुख कारण

5k Shares

काठमाडौं । विश्वकप फुटबल–२०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाको लगातार दोस्रो पटक विश्वकप जित्ने सपना अधुरै रह्यो।

यससँगै ब्राजिलले सन् १९५८ र १९६२ मा बनाएको लगातार दुई विश्वकप उपाधि जित्ने कीर्तिमान बराबरी गर्ने अवसर पनि अर्जेन्टिनाले गुमायो।

फाइनलमा पराजयसँगै अर्जेन्टिना चौथो विश्वकप उपाधि जित्नबाट पनि वञ्चित भएको छ। टोलीले यसअघि सन् १९७८, १९८६ र २०२२ मा विश्वकप जितेको थियो।

अर्जेन्टिनाको हारका प्रमुख पाँच कारण यस्ता छन् :

१. मेसीमाथिको अत्यधिक निर्भरता

प्रतियोगिताको सुरुआतदेखि नै उत्कृष्ट लयमा रहेका कप्तान लियोनेल मेसीले प्रिक्वार्टरफाइनलसम्म आठ गोल गर्दै टोलीलाई फाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। तर उपाधि भिडन्तमा स्पेनले मेसीलाई प्रभावहीन बनायो।

स्पेनका डिफेन्डर र मिडफिल्डरले मेसीमाथि निरन्तर दबाब सिर्जना गरेपछि उनले आफ्नो सिर्जनात्मक खेल देखाउन सकेनन्। फाइनलमा मेसीले गरेको एकमात्र प्रहार पनि गोलपोस्टको दिशामा थिएन। सम्भावित अन्तिम विश्वकप खेलमा उनको निराशाजनक बिदाइ अर्जेन्टिनाका समर्थकका लागि पीडादायी बन्यो।

२. अत्यधिक रक्षात्मक रणनीति

अर्जेन्टिनाले सुरुदेखि नै रक्षात्मक शैली अपनायो। स्पेनलाई रोक्ने रणनीतिमा केन्द्रित हुँदा टोलीले आक्रमणमा अपेक्षित प्रदर्शन गर्न सकेन। निर्धारित ९० मिनेटसम्म अर्जेन्टिनाले गोलपोस्टतर्फ प्रभावकारी प्रहार नै गर्न सकेन।

खेलको अन्तिमतिर मात्र जुलियानो सिमियोनेले केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन्। यद्यपि गोलरक्षक इमिलियानो मार्टिनेजको उत्कृष्ट प्रदर्शनले अर्जेन्टिनालाई लामो समयसम्म खेलमा टिकाइराख्यो र खेल अतिरिक्त समयमा पुगेको थियो।

३. स्पेनको मिडफिल्डको पूर्ण नियन्त्रण

स्पेनले आफ्नो परिचित छोटो पास र बल नियन्त्रणको शैलीलाई फाइनलमा पनि प्रभावकारी रूपमा प्रयोग गर्‍यो। रोड्री, पेड्री र अन्य मिडफिल्डरले खेलको गति नियन्त्रण गर्दै अर्जेन्टिनाका खेलाडीलाई बलमा टिक्नै दिएनन्। लगातार बल नियन्त्रणमा राख्दै स्पेनले अर्जेन्टिनाको लय बिगारिदियो र आक्रमण निर्माण गर्ने अवसर न्यून बनायो।

४. एन्जो फर्नान्डेजको रातो कार्ड

उत्तरार्धको इन्जुरी समयको तेस्रो मिनेटमा एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भयो।

त्यसअघि नै चोटका कारण डिफेन्डर लिसान्द्रो मार्टिनेज मैदान बाहिरिएका थिए। त्यसपछि प्रशिक्षक लियोनेल स्कालोनीले अनुभवी निकोलस ओटामेन्डीलाई मैदानमा उतार्न बाध्य भए।

१० खेलाडीमा सीमित बनेको अर्जेन्टिनामाथि स्पेनले थप दबाब बढायो र अतिरिक्त समयको दोस्रो हाफमा फेरान टोरेजले निर्णायक गोल गर्दै स्पेनलाई विश्वविजेता बनाए।

५. स्पेनको सामूहिक उत्कृष्ट प्रदर्शन

स्पेनसँग मेसी, एम्बाप्पे वा रोनाल्डोजस्ता एकल सुपरस्टार नभए पनि टोलीको सामूहिक प्रदर्शन नै सबैभन्दा ठूलो बल बन्यो।

मिकेल ओयरजाबालको गोल गर्ने क्षमता, रोड्री र पेड्रीको मिडफिल्ड नियन्त्रण, मार्क कुकुरेलाको अथक मेहनत तथा बेन्चबाट आएका मिकेल मेरिनोको प्रभावशाली प्रदर्शनले स्पेनलाई सन्तुलित टोलीका रूपमा स्थापित गर्‍यो।

प्रशिक्षक लुइस डे ला फुएन्टेको रणनीति पनि सफल रह्यो। प्रतियोगितापछि सर्वाधिक गोलकर्तालाई प्रदान गरिने गोल्डेन बुटबाहेकका सबै प्रमुख व्यक्तिगत पुरस्कार स्पेनी खेलाडीले जिते।

कप्तान रोड्रीले प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल जिते। युवा डिफेन्डर पाउ कुबार्सी उत्कृष्ट युवा खेलाडी घोषित भए भने गोलरक्षक उनाइ सिमोनले गोल्डेन ग्लोभ्स जिते। उनले प्रतियोगितामा लगातार ६५० मिनेटसम्म गोल नखाई नयाँ कीर्तिमानसमेत कायम गरेका थिए।

सम्बन्धित समाचार