इरानको चेतावनी– अमेरिकी सैन्य अड्डामा थप शक्तिशाली आक्रमण हुन सक्छ

1.7k Shares

तेहरान। मध्यपूर्वमा बढ्दो तनावका बीच इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य प्रतिष्ठानलाई लक्षित गर्दै थप निर्णायक र शक्तिशाली आक्रमण गर्ने चेतावनी दिएको छ। यमनका हुथी विद्रोहीहरूले साउदी अरबका बन्दरगाहमा नाकाबन्दी गर्ने घोषणा गरेपछि क्षेत्रीय द्वन्द्व थप चर्किने संकेत देखिएको हो।

इरानको रिभोलुसनरी गार्ड्सले होर्मुज जलडमरूमध्य पार गर्ने प्रयास गरिरहेका दुई तेल ट्याङ्करलाई रोकेर नियन्त्रणमा लिएको जनाएको छ। ती ट्याङ्करमा भएको विस्फोटपछि ठूलो आगलागी भएको पनि इरानी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

पछिल्लो झडपमा तीन अमेरिकी सैनिकको मृत्यु भएपछि संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध नयाँ चरणको सैन्य अभियान सुरु गरेको बताइएको छ। अमेरिकी पक्षले उक्त अभियानको उद्देश्य होर्मुज जलडमरूमध्यमा व्यापारिक जहाजमाथि आक्रमण गर्ने इरानी सैन्य क्षमतालाई कमजोर पार्नु रहेको जनाएको छ।

इरानी सेनाले यसअघि कुवेत र बहराइनस्थित अमेरिकी सैन्य सुविधा, हवाई रक्षा प्रणाली, राडार र प्रशासनिक भवनलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ। सरकारी समाचार संस्था आईआरएनएका अनुसार इरानले थप शक्तिशाली मिसाइल आक्रमणको तयारी गरिरहेको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्येक अमेरिकी सैनिकको मृत्युको मूल्य इरानले चुकाउनुपर्ने चेतावनी दिएका छन्। उता इरानी राष्ट्रपति मसूद पेजेस्कियनले द्वन्द्व पूर्ण रूपमा भड्किएको बताएका छन्।

पेन्टागनका अनुसार जुलाई ७ यता जारी झडपमा करिब १०० अमेरिकी सैनिक घाइते भएका छन्।

यसैबीच, यमनका हुथी विद्रोहीहरूले साउदी अरबका बन्दरगाह अवरुद्ध गर्ने घोषणा गर्दै युद्धको दायरा विस्तार गर्ने चेतावनी दिएका छन्। यस्तो कदमले साउदी अरबको तेल निर्यात र विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पर्ने आकलन गरिएको छ।

साउदी अरबले भने हुथी विद्रोहीहरूको धम्कीको कडा निन्दा गर्दै यसलाई क्षेत्रीय स्थायित्वविरुद्धको कदम भनेको छ।

अप्रिलमा भएको युद्धविराम र जुनमा भएको सहमति विफल भएपछि मध्यपूर्वमा पुनः तनाव बढेको छ। इरानले होर्मुज जलडमरूमध्यमा नाकाबन्दी कडा बनाएको छ भने अमेरिकाले इरानी बन्दरगाहमाथि दबाब बढाएको बताइएको छ।

यसैबीच, युके मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) ले ओमानको तट नजिक एउटा अज्ञात प्रक्षेप्य तेल ट्याङ्करमा ठोक्किएको घटना पुष्टि गरेको छ।

तनाव चर्किए पनि कूटनीतिक प्रयास भने जारी रहेको इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले बताएका छन्। उनका अनुसार मध्यस्थकर्तामार्फत वासिङ्टनसँग संवाद निरन्तर भइरहेको छ।

यसैबीच, इरानका गृहमन्त्री इस्कन्दर मोमेनी दुईदिने भ्रमणका लागि पाकिस्तान पुगेका छन्। उनले पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ र सेना प्रमुख असीम मुनीरसँग भेट गर्ने कार्यक्रम रहेको छ। साथै, लेबनानका राष्ट्रपति जोसेफ आउनले पनि वासिङ्टनमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट गर्ने कार्यक्रम तय भएको जनाइएको छ।

सम्बन्धित समाचार