काठमाडौं। संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र दुई जना निर्वाचन आयुक्तको संसदीय सुनुवाइ साउन १२ र १३ गते गर्ने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको सुनुवाइ साउन १२ गते तथा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सुनुवाइ साउन १३ गते गर्ने निर्णय गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।
उनका अनुसार दुवै दिन सुनुवाइ समितिको बैठक बिहान ११:१५ बजे सिंहदरबारमा बस्नेछ।
बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका लागि प्रस्तावित व्यक्तिहरूविरुद्ध प्राप्त उजुरी तथा उनीहरूले पेस गरेका कार्ययोजनाबारे सदस्यहरूलाई जानकारी गराइएको थियो।
गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरूको नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुग्नेछ।