चिकित्सा शिक्षा आयोगका निर्देशक पदका लागि १२ जना सर्टलिस्ट, साउन ८ मा अन्तर्वार्ता
1.4k
Shares
काठमाडौं, साउन ६ — चिकित्सा शिक्षा आयोगले आयोगअन्तर्गतका चार निर्देशनालय तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजका निर्देशक पदका लागि १२ जना उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ। आयोगले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजका निर्देशक पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति प्रक्रिया अघि बढाएको हो।
आयोगका अनुसार गत असार २६ गते प्रकाशित दरखास्त आह्वान सूचनाअनुसार प्राप्त आवेदनमध्ये शैक्षिक योग्यता, कार्यअनुभव तथा उम्मेदवारहरूले पेश गरेको सोचपत्रको मूल्याङ्कनका आधारमा उत्कृष्ट १२ जना उम्मेदवारलाई सर्टलिस्ट गरिएको हो। छनोट प्रक्रिया राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ तथा उम्मेदवार छनोटसम्बन्धी कार्यविधि, २०८३ अनुसार गरिएको आयोगले जनाएको छ।
सर्टलिस्टमा परेका उम्मेदवारहरूमा प्रा.डा. दयाराम पोखरेल (बारबर्दिया–४, बर्दिया), प्रा.डा. दिपेन्द्रबहादुर श्रेष्ठ (काठमाडौं–४), प्रा.डा. दिलिप शर्मा (सूर्यविनायक–२, भक्तपुर), प्रा.डा. विनोदकुमार यादव (औरही–२, महोत्तरी), प्रा.डा. मृगेन्द्र अमात्य (ललितपुर–६), प्रा.डा. रविन्द्रमान श्रेष्ठ (ललितपुर–१), प्रा.डा. विष्णुप्रसाद शर्मा (ललितपुर–१५), प्रा.डा. संघरत्न बज्राचार्य (काठमाडौं–२४), प्रा.डा. सञ्जयकुमार श्रेष्ठ (काठमाडौं–२८), प्रा.डा. सन्ध्या चापागाईं आचार्य (मध्यपुर ठिमी–३, भक्तपुर), प्रा.डा. सुरज बज्राचार्य (काठमाडौं–१७) र प्रा.डा. सैलेस प्रधान (महालक्ष्मी–१, ललितपुर) रहेका छन्।
आयोगले सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता साउन ८ गते (शुक्रबार) सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको बैठक कक्षमा सञ्चालन गर्ने जनाएको छ। पहिलो समूह (क्र.सं. १–४) को प्रस्तुतीकरण तथा अन्तर्वार्ता बिहान ८ बजे, दोस्रो समूह (क्र.सं. ५–८) को बिहान ११ बजे र तेस्रो समूह (क्र.सं. ९–१२) को अपराह्न २ बजे हुनेछ।
आयोगले उम्मेदवारहरूलाई आवेदनसँग संलग्न गरिएका सक्कल कागजात तथा १५ मिनेट अवधिको सोचपत्र प्रस्तुतीकरणका लागि पावरपोइन्टको इलेक्ट्रोनिक प्रतिलिपिसहित तोकिएको समयभन्दा कम्तीमा एक घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ। अन्तर्वार्ता र प्रस्तुतीकरणपछि छनोट समितिले योग्य उम्मेदवारलाई निर्देशक पदका लागि सिफारिस गर्ने प्रक्रिया अघि बढाउने आयोगले जनाएको छ।