काठमाडौं । वर्षायाम सुरु भएसँगै काठमाडौं उपत्यकामा सहरी बाढी र डुबानको समस्या फेरि दोहोरिएको छ। आइतबार र सोमबार परेको अविरल वर्षापछि काठमाडौं, ललितपुर र भक्तपुरका नदी तथा खोलाछेउका बस्ती मात्रै होइन, माइतीघर मण्डलासहित मुख्य सडकसमेत जलमग्न बने।
विज्ञहरूले सहरी बाढीको मुख्य कारण बागमती नदी र त्यसका सहायक खोलाको बहाव क्षेत्र अतिक्रमण, अव्यवस्थित शहरीकरण तथा प्राकृतिक पानीको निकास अवरुद्ध हुनु रहेको बताएका छन्।
विगतमा खेतीयोग्य जमिनले वर्षाको पानी सोस्ने गरे पनि अहिले अधिकांश क्षेत्र कंक्रिट संरचनाले भरिएपछि वर्षाको पानी सिधै नदी र खोलामा मिसिने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ।
पूर्वमन्त्री तथा जलस्रोतविद् दीपक ज्ञवालीका अनुसार नदी तथा खोलामाथि संरचना निर्माण, बहाव क्षेत्र साँघुरो बनाइनु र पानी जमिनमा सोसिने क्षेत्र घट्नुले बाढीको जोखिम वर्षेनी बढिरहेको छ।
“परेको पानीमध्ये कति जमिनमा सोसिन्छ र कति बगेर नदीमा पुग्छ भन्ने विषय महत्वपूर्ण हो। अहिले खोलामाथि नै संरचना बनेका छन्। बागमतीका धेरै स्थानमा दुवैतर्फ पर्खाल लगाइएकाले प्राकृतिक बहाव प्रभावित भएको छ,” ज्ञवालीले बताएका छन्।
उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, टुकुचा र गोदावरीलगायत नदी तथा खोलाको किनारमा रहेका बस्तीहरू वर्षेनी डुबानमा पर्ने गरेका छन्। सरकारले नदी किनारका केही बस्ती स्थानान्तरण गरे पनि विभिन्न क्षेत्रमा अतिक्रमण हट्न नसक्दा समस्या कायमै रहेको छ।
२०७१ असोजमा आएको भीषण बाढीपछि चोभार गल्छी क्षेत्रमा ठूलो परिमाणमा ढुंगा, गिट्टी, बालुवा र गेग्रान थुप्रिएको थियो। त्यसयता प्रत्येक वर्ष बाढीसँगै थप गेग्रान जम्मा हुँदै आएको छ, जसले नदीको निकास क्षमतामाथि असर पार्ने चिन्ता बढाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले चोभार क्षेत्रमा थुप्रिएको गेग्रान हटाउन ललितपुर महानगरपालिका र कीर्तिपुर नगरपालिकालाई आवश्यक स्रोत–सहयोग उपलब्ध गराइने बताएका छन्।
यसअघि बागमती सभ्यता एकीकृत विकास समिति, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहका प्रतिनिधिले गरेको अनुगमनले पनि चोभारको गल्छीमा थुप्रिएको ढुंगा, गिट्टी र बालुवा तत्काल हटाउनुपर्ने निष्कर्ष निकालेको थियो।
कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्य (सुनिता) ले चोभार गल्छी विस्तार गर्ने विषयमा विगतमा विवाद भए पनि बाढीले थुपारेको गेग्रान हटाउन भने कुनै समस्या नरहेको बताइन्।
उनले ललितपुर महानगरपालिकासँग समन्वय गरी स्थलगत अध्ययनपछि आवश्यक निर्णय लिइने जानकारी दिइन्। विज्ञहरूले उपत्यकामा सहरी बाढीको दीर्घकालीन समाधानका लागि नदी–खोलाको प्राकृतिक बहाव संरक्षण, अतिक्रमण हटा