पेरिस । फ्रान्सको दक्षिणपश्चिम क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण २० हजारभन्दा बढी स्थानीय बासिन्दा र पर्यटकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। बोर्डो सहरबाट करिब ५० किलोमिटर पश्चिममा फैलिएको आगो नियन्त्रणका लागि करिब ८ सय अग्निनियन्त्रक, सयौँ जाँडार्म (अर्धसैनिक प्रहरी) तथा सैनिक परिचालन गरिएको छ।
बुधबार सुरु भएको डढेलो नियन्त्रणका लागि अग्निनियन्त्रण विमानहरूले निरन्तर पानी खसालिरहेका छन्। स्थानीय अधिकारीका अनुसार झाडी सफा गर्ने मेसिनबाट निस्किएको आगोका कारण डढेलो सुरु भएको हुन सक्ने आशंका गरिएको छ। साउमोस गाउँबाट सुरु भएको आगो घना पाइन जंगल हुँदै प्रसिद्ध पर्यटकीय क्षेत्र लेजे–क्याप–फेरेतसम्म फैलिएको छ।
अग्निनियन्त्रकका अनुसार हालसम्म करिब ३ हजार ४ सय हेक्टर जंगल जलेको छ, जुन जिब्राल्टरको क्षेत्रफलभन्दा झन्डै पाँच गुणा ठूलो हो। आगलागीबाट तीनवटा घरमा क्षति पुगेको छ भने एउटा क्याराभान पूर्ण रूपमा नष्ट भएको छ। यद्यपि हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।
डढेलो नियन्त्रणका लागि फ्रान्सले युरोपेली सङ्घसँग सहयोग मागेपछि तीनवटा विशेष पानी बोक्ने अग्निनियन्त्रण विमान परिचालन गरिएको छ। स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा उद्धार र सुरक्षाका उपायलाई तीव्र बनाएको जनाएको छ।
अधिकारीहरूका अनुसार जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम, लामो खडेरी र तीव्र हावाले डढेलो नियन्त्रणमा चुनौती थपिएको छ। फ्रान्सले मे महिनायता लगातार तीन पटक गर्मीको लहर सामना गरिसकेको छ, जसका कारण डढेलोको जोखिम उल्लेख्य रूपमा बढेको छ।
लेजे–क्याप–फेरेतका मेयर फिलिप दे गोनभिलले ३० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम र पूर्व तथा उत्तरपूर्वबाट चलेको बलियो हावाका कारण आगो नियन्त्रण गर्न कठिन भइरहेको बताउनुभएको छ।
यसै साता बोर्डो विमानस्थल नजिकै अर्को डढेलो निभाउने क्रममा दुई अग्निनियन्त्रकको मृत्यु भएको थियो। अग्निनियन्त्रकहरूको सङ्घले पर्याप्त स्रोत–साधनको अभाव र कर्मचारीमाथि बढ्दो कार्यभारबारे सरकारको ध्यानाकर्षण गराएको छ।
युरोपभरि लगातारको गर्मीको लहर र खडेरीका कारण यस वर्ष डढेलोको जोखिम उच्च बनेको छ। विज्ञहरूका अनुसार सुख्खा वनस्पति, घट्दो पानीको स्रोत र जलवायु परिवर्तनका प्रभावले महादेशभर डढेलोका घटना बढ्दै गएका छन्।