किभमा रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण, १० जनाको मृत्यु

6.9k Shares

काठमाडौँ । रुसले युक्रेनको राजधानी किभनजिक गरेको ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब १०० जना घाइते भएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रक्षा क्षेत्रका प्रतिनिधिहरू सहभागी रहेको ड्रोन प्रविधि प्रदर्शनीस्थललाई लक्षित गरी आक्रमण गरिएको हो। उहाँले आक्रमणमा ठूलो मानवीय क्षति भएको र उद्धार तथा राहत कार्य जारी रहेको बताउनुभएको छ।

युक्रेनको पूर्वी सहर स्लोभियान्स्कमा रुसले गरेको ग्लाइड बम आक्रमणमा थप पाँच जनाको मृत्यु भएको छ। त्यस्तै उत्तरी सुमी सहरमा भएको अर्को आक्रमणमा दुई जनाको ज्यान गएको युक्रेनी सैन्य अधिकारीहरूले पुष्टि गरेका छन्।

रुसी रक्षा मन्त्रालयले ड्रोन प्रदर्शनीस्थलमा उच्च–सटीक लामो दूरीका हतियार प्रयोग गरी आक्रमण गरिएको स्वीकार गरेको छ। मन्त्रालयले उक्त स्थलबाट रुसविरुद्ध प्रयोग हुने ड्रोन प्रदर्शन भइरहेको दाबी गर्दै सैन्य लक्ष्यलाई केन्द्रित गरेर कारबाही गरिएको जनाएको छ।

यता, युक्रेनले पनि रुसको किरोभ सहरस्थित सैन्य सामग्री उत्पादन गर्ने कारखाना तथा अनलाइन खुद्रा कम्पनी वाइल्डबेरीजका गोदामहरूमा आक्रमण गरेको जनाएको छ।

रुसी अधिकारीहरूका अनुसार ती आक्रमणमा छ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। दुवै देशले एकअर्काविरुद्ध आक्रमण तीव्र बनाएसँगै रुस–युक्रेन युद्ध थप चर्किने संकेत देखिएको छ।

सम्बन्धित समाचार