हेटौँडाबाट अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार पक्राउ
2.3k
Shares
हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा तीन भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको पटना निवासी २७ वर्षीय इन्द्रजित सरकार, २० वर्षीय सहर्षजित सरकार, २३ वर्षीय अमनराज सरकार तथा हेटौँडा उपमहानगरपालिका–१० स्थित बाँस्तोला होटलका सञ्चालक ३७ वर्षीय दीपक बाँस्तोलालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूले मिलेमतोमा विभिन्न प्रलोभन देखाई भारतीय नागरिकलाई समेत अनलाइनमार्फत ठगी गर्ने गरेको भन्ने सूचनाका आधारमा हेटौँडा–१० स्थित बाँस्तोला होटलमा छापा मारेर चारै जनालाई नियन्त्रणमा लिइएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले प्रयोग गरेका मोबाइल फोनमा टेलिग्राम, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमार्फत विभिन्न समूह बनाएर ठगीका लागि रकमको कारोबार गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध अनलाइन ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत हेटौँडाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ।