काठमाडौं । फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा आएका केप भर्डेका अनुभवी गोलकिपर भोजिन्हा चिलीको शीर्ष डिभिजन क्लब कोलो कोलोमा आबद्ध हुने भएका छन्।
४० वर्षीय भोजिन्हाले पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेससँगको सम्झौता सकिएपछि फ्री एजेन्टका रूपमा विश्वकप खेलेका थिए। विश्वकपभर उनले गरेको उत्कृष्ट प्रदर्शनले अन्तर्राष्ट्रिय फुटबलमा व्यापक चर्चा पाएको थियो। विशेषगरी अन्ततः विश्वकप विजेता बनेको स्पेनविरुद्ध गोलरहित बराबरी गराउन उनले गरेका महत्वपूर्ण बचाउहरू निकै प्रशंसित बनेका थिए।
कोलो कोलोका अध्यक्ष अनिबाल मोसाले भोजिन्हासँग सम्झौता भएको पुष्टि गर्दै केही दिनभित्र उनी चिली पुग्ने र स्वास्थ्य परीक्षणपछि एस्टाडियो मोनुमेन्टलमा औपचारिक रूपमा सार्वजनिक गरिने जानकारी दिएका छन्।
मोसाका अनुसार विश्वकपमा देखाएको प्रदर्शनकै आधारमा भोजिन्हाले यो अवसर पाएका हुन्। उनको आगमनले टोलीको प्रदर्शन मात्र होइन, क्लबको अन्तर्राष्ट्रिय पहिचान र बजार प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
चिलीको राजधानी सान्टियागोस्थित कोलो कोलो हाल शीर्ष डिभिजन प्रतियोगिता ‘लिगा डे प्रिमेरा’को शीर्ष स्थानमा रहेको छ। ट्रान्सफर प्रक्रिया औपचारिक रूपमा पूरा नभए पनि क्लबले सामाजिक सञ्जालमार्फत भोजिन्हाको परिचित घुँघरिएको कपाल देखिने तस्बिर सार्वजनिक गर्दै उनको आगमनको संकेत दिइसकेको छ।
स्पेनविरुद्धको खेलमा केप भर्डेलाई विश्वकप इतिहासकै पहिलो अंक दिलाएपछि भोजिन्हा समर्थकमाझ ‘कल्ट हिरो’का रूपमा स्थापित भएका थिए। त्यसपछि सामाजिक सञ्जालमा उनका लाखौँ नयाँ फलोअर्स थपिएका थिए।
विश्वकप इतिहासमा फाइनल चरण पुग्ने दोस्रो सानो राष्ट्र बनेको केप भर्डेले अन्तिम ३२ को खेलमा अर्जेन्टिनाविरुद्ध पनि कडा चुनौती दिएको थियो। अतिरिक्त समयमा ३–२ को हार बेहोरे पनि उक्त खेलमा भोजिन्हाको प्रदर्शनले फुटबल समर्थक र विश्लेषकबाट व्यापक प्रशंसा बटुलेको थियो।