ट्रान्सफर बजार तात्दै: सालाह बेसिग्तासतर्फ

1.8k Shares

काठमाडौं । युरोपेली फुटबलको समर ट्रान्सफर बजार झन् रोचक बन्दै गएको छ। मोहम्मद सालाहको सम्भावित नयाँ गन्तव्यदेखि जुलियन अल्भारेज र यान जिओमान्देसँग सम्बन्धित चर्चाले फुटबल समर्थकमाझ उत्साह बढाएको छ।

लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमार्फत टर्किस क्लब बेसिग्तास आबद्ध हुने नजिक पुगेका छन्। इटालियन ट्रान्सफर विशेषज्ञ निकोलो सिराका अनुसार दुवै पक्षबीच थप एक वर्ष सम्झौता विस्तार गर्न सकिने विकल्पसहित १२ महिनाको सम्झौतामा सिद्धान्ततः सहमति भइसकेको छ।

लिभरपुलमा नौ वर्ष बिताएर गत महिना टोलीबाट अलग भएका ३४ वर्षीय इजिप्टियन फरवार्डलाई भित्र्याउन बेसिग्तासका मुख्य प्रशिक्षक भिनचेन्जो इटालियानोले विशेष पहल गरिरहेका छन्।

यता, एट्लेटिको म्याड्रिडका अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजले क्लब छाडेमा उनलाई अनुबन्ध गर्ने दौडमा आर्सनल अग्रस्थानमा रहेको बताइएको छ। स्पेनिस सञ्चारमाध्यम कादेना सेरका अनुसार एट्लेटिकोले घरेलु प्रतिद्वन्द्वी बार्सिलोनालाई अल्भारेज बेच्ने पक्षमा छैन।

यद्यपि, आर्सनलसँगको सम्भावित सम्झौतामा भिक्टर ग्योकेरेसलाई समावेश गर्ने विकल्प बनेमा एट्लेटिको वार्ताका लागि तयार हुन सक्ने जनाइएको छ। क्लबले भने कुनै पनि खेलाडी बाहिरिनुअघि नयाँ खेलाडी भित्र्याउने योजनालाई प्राथमिकता दिएको छ।

उता, रियल म्याड्रिडले जर्मन क्लब आरबी लाइपजिगका फरवार्ड यान जिओमान्देका लागि गरेको १०० मिलियन युरोको प्रस्ताव अस्वीकृत भएको छ। स्काई जर्मनीका अनुसार ९० मिलियन युरो नगद र १० मिलियन युरो एड-अनसहितको प्रस्ताव लाइपजिगको अपेक्षाभन्दा कम भएकाले क्लबले अस्वीकार गरेको हो।

युरोपेली ट्रान्सफर बजारमा यी सम्भावित सम्झौताले आगामी सिजनअघि थप रोमाञ्चक मोड लिने संकेत देखिएको छ।

सम्बन्धित समाचार