फ्रान्स र स्पेनमा डढेलो: ३ लाखभन्दा बढी विस्थापित, आगो नियन्त्रणबाहिर

6.1k Shares

काठमाडौँ । फ्रान्स र स्पेनमा विगत केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। तीव्र हावा र अत्यधिक तापक्रमका कारण आगो नियन्त्रणमा लिन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्।

फ्रान्सको दक्षिणपश्चिम क्षेत्रमा फैलिएको डढेलो बोर्डो शहरतर्फ तीव्र गतिमा फैलिएको छ। आगो शहर नजिक पुग्न थालेपछि बोर्डोको पश्चिममा रहेका सात वटा नगरका बासिन्दालाई रातारात सुरक्षित स्थानमा सारिएको बीबीसीले जनाएको छ।

फ्रान्समा शनिबार अबेर थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा जान आदेश दिइएको थियो। अधिकारीहरूका अनुसार डढेलो अझै नियन्त्रणमा आएको छैन र बोर्डोबाट करिब ४० देखि ५० किलोमिटर टाढासम्म आगो फैलिएको छ। धुवाँ शहरसम्म पुगेपछि स्थानीय बासिन्दाले हावामा बाक्लो धुवाँको गन्ध महसुस गरेका छन्।

डढेलो नियन्त्रणका लागि फ्रान्सले सेना परिचालन गरेको छ। साथै झाडी फाँड्ने, आगो फैलिन नदिन अवरोध निर्माण गर्ने तथा दमकल परिचालनलाई तीव्र बनाइएको छ। सन् २०२६ को सुरुदेखि हालसम्म फ्रान्समा ९८ हजार हेक्टरभन्दा बढी वन क्षेत्र डढेलोबाट नष्ट भइसकेको जनाइएको छ।

उता, संकटकाल घोषणा गरिएको स्पेनमा म्याड्रिड र अभिला क्षेत्रमा मात्रै करिब ६० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने २८ हजारभन्दा बढी अझै घरभित्रै बस्न बाध्य छन्। स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले अवस्था निकै जटिल रहेको स्वीकार गरेका छन्।

प्रधानमन्त्री साञ्चेजका अनुसार यस वर्ष स्पेनमा हालसम्म एक लाख ३० हजार हेक्टरभन्दा बढी वन क्षेत्र डढेलोले नष्ट गरिसकेको छ, जुन पछिल्लो दशकको वार्षिक औसतभन्दा धेरै हो।

यसैबीच, भ्यालेन्सिया क्षेत्रमा डढेलोका कारण एक जनाको मृत्यु भएको पुष्टि भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार करिब ७० वर्षीय एक पुरुष मानिसेसको साल्ट दे लुआइगुआ खोंचमा आगो निभाउने क्रममा आफ्नै कारभित्र मृत अवस्थामा फेला परेका थिए।

सम्बन्धित समाचार