इरान–अमेरिका तनावमा अस्थायी विराम, तेलको मूल्यमा उल्लेख्य गिरावट

15.3k Shares

काठमाडौं । करिब पाँच महिनादेखि जारी इरान–अमेरिका सैन्य तनाव केही मत्थर हुने संकेत देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कूटनीतिक प्रयासलाई थप समय दिने संकेत गरेपछि इरानले पनि आफ्नो प्रतिशोधात्मक सैन्य कारबाही स्थगित गरेको जनाएको छ।

यससँगै खाडी क्षेत्रमा तत्काल सैन्य जोखिम घटेको छ भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा ओरालो लागेको छ। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जका अनुसार राष्ट्रपति ट्रम्पले वार्तालाई अवसर दिन चाहेकाले अमेरिकी सेना पूर्ण तयारी अवस्थामा रहे पनि तत्काल थप आक्रमण नगर्ने नीति अपनाइएको छ।

इरानी सेनाका प्रवक्ता मोहम्मद अक्रामिनियाले पनि अमेरिकाले लगातार दुई रातदेखि हवाई आक्रमण नगरेकाले इरानले पनि प्रतिशोधात्मक सैन्य प्रतिक्रिया स्थगित गरेको बताए। उनका अनुसार इरानको रणनीति अमेरिकी आक्रमणको जवाफमा आधारित रहेकाले आक्रमण रोकिएसँगै सैन्य प्रतिक्रिया पनि रोकिएको हो।

यसअघि अमेरिकी सेनाले लगातार १३ रातसम्म इरानमाथि हवाई आक्रमण गरेको थियो, जुन अप्रिलमा भएको युद्धविरामपछि द्वन्द्वको सबैभन्दा तीव्र चरण मानिएको थियो। पछिल्ला दुई रात भने दुवै पक्षबाट प्रत्यक्ष आक्रमण नभएपछि तनाव केही कम भएको संकेत देखिएको छ।

तनाव घटेसँगै अन्तर्राष्ट्रिय तेल बजारमा पनि प्रभाव परेको छ। सोमबार एसियाली बजारमा ब्रेन्ट क्रुडको मूल्य करिब ५.९ प्रतिशत घटेर प्रतिब्यारेल ९१.०८ अमेरिकी डलरमा झरेको छ भने वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) ५.७३ प्रतिशतले घटेर ८४.१९ अमेरिकी डलरमा कारोबार भएको छ।

हर्मुज जलघाँटीबाट सुरु भएको पछिल्लो तनाव अमेरिकी सैन्य अड्डा, क्षेत्रीय जलमार्ग र खाडी राष्ट्रसम्म फैलिएको थियो। यसबीच आइतबार एउटा तेल ट्याङ्कर समुद्री सुरुङ विस्फोटबाट क्षतिग्रस्त भएको अपुष्ट इरानी सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसै साता ह्वाइट हाउस भ्रमण गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनले राष्ट्रपति ट्रम्पसँग इरानको आणविक कार्यक्रमविरुद्ध कडा नीति कायम राख्न आग्रह गर्ने अपेक्षा गरिएको छ।

नेतान्याहुले इरानको आणविक कार्यक्रम कुनै पनि माध्यमबाट अन्त्य हुनुपर्ने धारणा राख्दै आएका छन् भने इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण नागरिक प्रयोजनका लागि मात्र रहेको दाबी गर्दै आएको छ।

अमेरिकी सञ्चारमाध्यमहरूले केही रक्षात्मक हतियारको मौज्दातमा परेको दबाबका कारण सैन्य अभियान विस्तार प्रभावित भएको दाबी गरे पनि राजदूत वाल्ट्जले त्यसलाई अस्वीकार गर्दै अमेरिकी सेनासँग आवश्यक सबै सैन्य क्षमता रहेको बताएका छन्।

राष्ट्रपति ट्रम्पले पनि इरानसँगको संवाद जारी रहेको र तेहरान पहिलेभन्दा गम्भीर रूपमा वार्तामा सहभागी हुन खोजिरहेको बताएका छन्। यद्यपि पूर्ण सैन्य अभियान पुनः सुरु गर्ने वा नगर्नेबारे अन्तिम निर्णय भने अझै गरिएको छैन।

युद्धको प्रभाव क्षेत्रीय रूपमा पनि देखिएको छ। इरान समर्थित हुथी विद्रोहीहरूले उत्तरपश्चिमी यमनमा साउदी अरेबियाको एउटा ड्रोन खसालेको दाबी गरेका छन्।

यसअघि उनीहरूले साउदी अरामकोका तेल पूर्वाधारमा आक्रमण गरेको बताएका थिए भने त्यसको जवाफमा साउदी अरेबियाले हुथीका लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको थियो।

उता, तेहरानमा भने आइतबार जनजीवन सामान्य देखिएको एएफपीले जनाएको छ। अत्यधिक गर्मीका बाबजुद सडकमा सवारीसाधनको चहलपहल, पसल र रेस्टुरेन्ट नियमित रूपमा सञ्चालन भइरहेकाले राजधानीमा तत्काल युद्धको प्रत्यक्ष असर कम देखिएको संकेत मिलेको छ।

सम्बन्धित समाचार