६.८ म्याग्निच्युडको भूकम्पले जापानमा क्षति, भवन भत्किँदा दुईको ज्यान गयो

1.1k Shares

काठमाडौं । जापानको दक्षिणपश्चिमी टापु क्युशुको कुमामोतो क्षेत्रमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा दुई जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

बीबीसीका अनुसार भूकम्पपछि ६० भन्दा बढी पराकम्प महसुस गरिएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको छ।

भूकम्पका कारण भवनहरू भत्किएका छन्, आगलागीका घटना भएका छन् भने सडक तथा अन्य पूर्वाधारमा पनि उल्लेखनीय क्षति पुगेको छ।

कुमामोतो सहरस्थित एओन सपिङ मलको दोस्रो तला आंशिक रूपमा भत्किएपछि विस्फोटसमेत भएको बताइएको छ। घटनापछि मलमा कार्यरत २० देखि ३० जना कर्मचारी सम्पर्कविहीन रहेको जनाइएको छ।

स्थानीय अस्पतालहरूमा ९० भन्दा बढी घाइतेको उपचार भइरहेको छ। तीमध्ये १० जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।

भूकम्पपछि करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रविन्दु कुमामोतो सहरबाट करिब ४८ किलोमिटर दक्षिणपश्चिममा रहेको उटो तटीय क्षेत्रनजिक थियो।

भूकम्पलगत्तै सुनामीको चेतावनी जारी गरिए पनि जोखिम मूल्यांकनपछि उक्त चेतावनी फिर्ता लिइएको छ। स्थानीय प्रशासनले पराकम्प जारी रहेकाले सतर्क रहन नागरिकलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार