बागमती नदीको सतह बढ्दा मकवानपुर–ललितपुरका बस्ती जोखिममा
1.2k
Shares
काठमाडौं । मकवानपुर र ललितपुरको सीमाबाट बग्ने बागमती नदीमा ढुङ्गा, गिट्टी, बालुवा र माटो थुप्रिँदै जाँदा नदीको सतह बढेको छ। यसले नदी तटीय बस्ती, खेतीयोग्य जमिन तथा बागमती पुललाई उच्च जोखिममा पारेको भन्दै स्थानीयले तत्काल बहाव व्यवस्थापन गर्न माग गरेका छन्।
स्थानीयका अनुसार हेटौँडा–काठमाडौं द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणका क्रममा सुरुङबाट निकालिएको माटो जथाभावी थुपारिँदा वर्षासँगै नदीमा बगेर पुगेको छ। त्यसका कारण नदी साँघुरिँदै गएको र बर्खायाममा बाढीको जोखिम बढेको उनीहरूको भनाइ छ।
जोखिममा पर्ने मुख्य संरचनामध्ये ललितपुरको बागमती गाउँपालिका–४ खैरघारी र मकवानपुरको बकैया गाउँपालिका–१० घैँटार जोड्ने बागमती पुल पनि रहेको छ।
बकैया–१० का स्थानीय रूपेन घलेका अनुसार यसअघि नदीमा यस्तो समस्या थिएन। तर द्रुतमार्ग आयोजनाबाट निस्किएको माटो नदीमा थुप्रिन थालेपछि नदीको सतह उक्लिएको र अहिले बस्ती, खेतीयोग्य जमिन तथा पुल नै जोखिममा परेको छ।
स्थानीयका अनुसार ललितपुरको बागमती गाउँपालिका–४, ५ र ७ अन्तर्गतका खैरघारीबेँसी, धनडाँडाबेँसी र आस्राङबेँसी तथा मकवानपुरको बकैया गाउँपालिकाका घैँटारबेँसी, ठिङ्गनबेँसी फाँट, केराबारीबेँसी, चनथलीबेँसी, धुवाँकोट र तीनभङ्गाले क्षेत्र सबैभन्दा बढी जोखिममा छन्।
स्थानीयले नदीमा थुप्रिएको ढुङ्गा, गिट्टी र बालुवा हटाएर बहाव व्यवस्थापन गर्न सके बाढीको जोखिम धेरै हदसम्म कम गर्न सकिने बताएका छन्। तर वर्षायामका कारण नदीजन्य सामग्री उत्खननमा रोक लगाइएकाले तत्काल काम हुन सकेको छैन।
बकैया गाउँपालिका–१२ का वडाध्यक्ष ज्ञानेन्द्र बजगाईंले द्रुतमार्ग निर्माणका क्रममा निस्किएको माटो नदीमा जम्मा हुँदा समस्या गम्भीर बनेको बताए। उनका अनुसार नदीको सतह अझै बढेमा वडा नम्बर १२ का करिब ४५ घरपरिवार विस्थापित हुने जोखिम छ।
त्यस्तै बकैया–१० की वडाध्यक्ष कमला वाइबाले पुलमुनि नदीको बहाव अवरुद्ध हुन थालेको बताउँदै समयमै व्यवस्थापन नगरिए बाढीको पानी पुलमाथिबाट बग्न सक्ने चेतावनी दिइन्। उनका अनुसार त्यस अवस्थामा वडाका करिब २५ घरधुरी प्रत्यक्ष जोखिममा पर्नेछन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयलाई सतर्क रहन सूचना जारी गरिएको उनले जानकारी दिइन्।
बागमती गाउँपालिका–४ खैरघारीका स्थानीय केशव सापकोटाले द्रुतमार्ग निर्माणका क्रममा निकालिएको माटो नदीको बगरमा थुप्रिएपछि नदीको सतह उचालिएको र बस्ती थप जोखिममा परेको बताए। भौगोलिक रूपमा विकट क्षेत्र भएकाले थुप्रिएको नदीजन्य सामग्री व्यवस्थापन गर्न कठिन भएको उनको भनाइ छ।
पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुजन भण्डारीका अनुसार बर्खायाममा नदीको बहाव अत्यधिक हुने भएकाले अहिले मेसिन प्रयोग गरेर नदी सफा गर्न सम्भव छैन। वर्षा सकिएपछि नदीमा थुप्रिएको ढुङ्गा, गिट्टी र बालुवा हटाएर बहाव व्यवस्थापन गर्ने योजना रहेको उनले बताए।
गत वर्ष असोज ११ र १२ गते आएको बाढीले यही क्षेत्रमा छ परिवार विस्थापित भएका थिए भने नदी कटानका कारण खेतीयोग्य जमिन र धानबालीमा समेत ठूलो क्षति पुगेको थियो।
स्थानीय जनप्रतिनिधिले समस्या समाधानका लागि स्थानीय तहबाट पहल भइरहेको जनाउँदै दीर्घकालीन समाधानका लागि प्रदेश सरकार, संघीय सरकार र द्रुतमार्ग आयोजनाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।