विश्वकपमा निजी लगानी भित्र्याउने फिफा योजनाविरुद्ध युइएफए र कनकाकाफ, बहिष्कारको चेतावनी

17k Shares

काठमाडौँ । फिफा विश्वकपलगायत अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा निजी इक्विटी लगानी भित्र्याउने फिफा अध्यक्ष जियानी इन्फान्टिनोको प्रस्तावविरुद्ध विश्व फुटबलका दुई प्रभावशाली महासङ्घ खुलेर उभिएका छन्।

युरोपेली फुटबल महासङ्घ (युइएफए) र उत्तर, मध्य अमेरिका तथा क्यारेबियन फुटबल महासङ्घ (कनकाकाफ)ले प्रस्तावको कडा विरोध गर्दै यसले विश्व फुटबलको संरचना र चरित्र नै बदल्ने चेतावनी दिएका छन्।

युइएफएले शुक्रबार आफ्ना ५५ सदस्य राष्ट्रको आपत्कालीन अनलाइन बैठकपछि जारी गरेको विज्ञप्तिमा प्रस्ताव पूर्ण रूपमा फिर्ता नलिएसम्म आफ्ना सदस्य राष्ट्रले कुनै पनि फिफा प्रतियोगितामा सहभागी नहुने चेतावनी दिएको छ। साथै, भविष्यमा पनि फिफाले आफ्ना प्रतियोगिता वा शासन संरचनामा निजी स्वामित्व प्रवेश गराउने प्रयास नगर्ने बाध्यकारी प्रतिबद्धता गर्नुपर्ने माग गरेको छ।

युइएफएको भनाइमा फिफा विश्वकप कुनै व्यावसायिक सम्पत्ति मात्र नभई विश्व फुटबलको साझा सम्पत्ति हो। यदि निजी लगानीकर्ताले विश्वकपजस्ता प्रतियोगितामा स्वामित्वको हिस्सा पाए भने खेलको मूल उद्देश्यभन्दा लगानीकर्ताको नाफा प्राथमिकतामा पर्ने, व्यावसायिक दबाब बढ्ने र विश्व फुटबलको दीर्घकालीन संरचनामै असर पर्नेछ।

महासङ्घले फिफाको पछिल्लो कदमलाई विश्व फुटबलप्रतिको जिम्मेवारीबाट नेतृत्व विमुख भएको संकेतका रूपमा समेत व्याख्या गरेको छ।

यता कनकाकाफले पनि प्रस्ताव तयार गर्ने प्रक्रिया पारदर्शी नभएको भन्दै असन्तुष्टि जनाएको छ। महासङ्घले पर्याप्त परामर्श नगरी कृत्रिम रूपमा छोटो समयसीमा तोकिएको, सम्बन्धित निर्णय गर्ने निकायबाट औपचारिक समीक्षा नगरिएको र इतिहासकै सबैभन्दा धेरै आम्दानी भएको विश्वकपपछि पनि बाह्य लगानी किन आवश्यक परेको हो भन्ने प्रश्न उठाएको छ।

फिफाको स्पष्टीकरण

विवाद चुलिँदै गएपछि फिफाले शुक्रबार विज्ञप्ति जारी गर्दै कसैले पनि ‘फुटबल बेच्न’ नखोजेको दाबी गरेको छ। सदस्य राष्ट्रहरूसँग परामर्श जारी रहेको र उनीहरूको सहमति नपाएसम्म प्रस्तावित फिफा फरवार्ड इन्टरप्राइज (एफएफई) स्थापना नहुने स्पष्ट पारेको छ।

फिफाका अनुसार हाल सञ्चालनमा रहेका व्यावसायिक गतिविधिमा कुनै परिवर्तन हुने छैन। संस्थाले विवाद बढ्नुमा सञ्चारमाध्यममा आएका ‘भ्रामक विवरण’ जिम्मेवार रहेको दाबी पनि गरेको छ।

के हो प्रस्ताव ?

इन्फान्टिनोले फिफाको व्यावसायिक सम्पत्तिको २० प्रतिशत हिस्सा निजी लगानीकर्तालाई बिक्री गरेर फिफा फरवार्ड इन्टरप्राइज (एफएफई) नामक नयाँ सहायक कम्पनी स्थापना गर्ने प्रस्ताव अघि सारेका छन्।

सार्वजनिक विवरणअनुसार प्रमुख लगानीकर्ता अमेरिकी निजी इक्विटी कम्पनी हुने बताइएको छ। उक्त कम्पनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरका भाइ जोशुआ कुशनरले स्थापना गरेको कम्पनी हो।

फिफाले यो योजनाबाट प्राप्त हुने रकम विश्व फुटबल विकासमा लगानी गरिने दाबी गरेको छ। प्रस्तावअनुसार सदस्य राष्ट्रले पाउने आधारभूत विकास सहायता दुई करोड अमेरिकी डलरबाट बढाएर चार करोड डलर पुर्‍याइनेछ भने सन् २०३८ सम्म प्रत्येक सदस्य सङ्घले करिब ८ करोड ६० लाख अमेरिकी डलरसम्म सहयोग प्राप्त गर्न सक्ने दाबी गरिएको छ।

इन्फान्टिनोले यसलाई विश्व फुटबल विकासका लागि वित्तीय स्रोतलाई ‘टर्बोचार्ज’ गर्ने अवसरका रूपमा प्रस्तुत गरेका छन्।

एएफसीको पनि चिन्ता

एसियाली फुटबल महासङ्घ (एएफसी)का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाले पनि फिफाको एकपक्षीय कदमप्रति चिन्ता व्यक्त गरेका छन्। उनले सबै महादेशीय महासङ्घको सहमति बिना यस्तो योजना सफल हुन नसक्ने भन्दै यसले घरेलु तथा महादेशीय प्रतियोगिताको स्थायित्व, व्यावसायिक संरचना र समग्र फुटबल प्रणालीमा नकारात्मक असर पार्न सक्ने बताएका छन्।

इन्फान्टिनोमाथि बढ्दो दबाब

युइएफएका धेरै सदस्यले फिफासँग पर्याप्त वित्तीय सञ्चिति हुँदाहुँदै पनि निजी लगानी भित्र्याउने प्रयास गर्नु आवश्यक नभएको तर्क गरेका छन्। यससँगै इन्फान्टिनोको नेतृत्वमाथि पनि दबाब बढ्न थालेको छ।

आगामी मार्चमा मोरक्कोको रबातमा हुने फिफा अध्यक्षीय निर्वाचनका लागि नोभेम्बर १८ सम्म उम्मेदवारी दर्ता गर्नुपर्नेछ। यसअघि इन्फान्टिनो चौथो कार्यकालका लागि सहज रूपमा निर्वाचित हुने अनुमान गरिएको भए पनि पछिल्लो विवादले विश्व फुटबलको शक्ति सन्तुलन र नेतृत्वबारे नयाँ बहस सुरु गराएको छ।

युइएफएले यसअघि पनि सन् २०२१ मा विश्वकप प्रत्येक दुई वर्षमा आयोजना गर्ने फिफाको प्रस्तावविरुद्ध बहिष्कारको चेतावनी दिएको थियो। युरोपेली विरोधकै कारण उक्त योजना कार्यान्वयन हुन सकेको थिएन। अहिलेको निजी इक्विटीसम्बन्धी विवादलाई पनि विश्व फुटबल प्रशासनको भविष्य निर्धारण गर्ने अर्को महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार