एनआरएनएको विश्व ज्ञान सम्मेलन र दोहोरो कर हटाउने प्रस्तावमा सरकार सकारात्मक

1.7k Shares

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अघि सारेको विश्व ज्ञान सम्मेलन–२०२७ आयोजना तथा दोहोरो कर प्रणाली (डबल ट्याक्सेसन) हटाउने प्रस्तावप्रति सरकार सकारात्मक देखिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यी दुवै विषय नेपालको आर्थिक विकास, ज्ञान हस्तान्तरण र वैदेशिक लगानी प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको भन्दै आवश्यक सरकारी सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

शुक्रबार अर्थ मन्त्रालयमा भएको भेटमा एनआरएनएको प्रतिनिधिमण्डलले अर्थमन्त्री वाग्लेलाई चौथो विश्व ज्ञान सम्मेलन–२०२७ को अवधारणापत्र हस्तान्तरण गर्दै नेपाल सरकारको सहकार्यमा सम्मेलन आयोजना गर्न आग्रह गरेको थियो।

भेटका क्रममा एनआरएनएका उपाध्यक्ष तथा सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मीले विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक, उद्यमी तथा दक्ष जनशक्तिको ज्ञान, सीप, अनुभव र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोड्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिनुभयो।

उहाँले सम्मेलनले नेपालका प्राथमिकताप्राप्त विकास क्षेत्रमा विश्वभर रहेका नेपाली विज्ञहरूको ज्ञान, प्रविधि र अनुभव परिचालन गर्दै सरकार, निजी क्षेत्र र प्रवासी नेपालीबीच सहकार्यको नयाँ आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो।

जवाफमा अर्थमन्त्री वाग्लेले विश्व ज्ञान सम्मेलन–२०२७ ले विदेशमा रहेका नेपालीको ज्ञान, सीप र अनुभवलाई नेपालको विकाससँग जोड्ने प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गर्दै यसको सफल आयोजनाका लागि सरकार आवश्यक सहकार्य गर्न तयार रहेको बताउनुभयो।

भेटमा एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राईले गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन हुन नसक्नु र एकीकृत गैरआवासीय नेपाली ऐन समयमै नआउँदा प्रवासी नेपालीले विभिन्न कानुनी तथा व्यवहारिक समस्या भोग्नुपरेको गुनासो गर्नुभयो। उहाँले यिनै कारण एनआरएनएले अघि सारेका करिब १० अर्ब रुपैयाँ बराबरका विकास तथा लगानी परियोजना प्रभावित भएको उल्लेख गर्दै ऐनलाई फास्ट ट्र्याकमार्फत टुंग्याउन आग्रह गर्नुभयो।

त्यसैगरी, एनआरएनए नेपाल डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले फन्ड सञ्चालनका लागि धितोपत्र बोर्डअन्तर्गतको अन्तिम प्रक्रिया मात्रै बाँकी रहेको जानकारी दिँदै सरकारले आवश्यक सहजीकरण गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो। अर्थमन्त्री वाग्लेले बाँकी कानुनी तथा प्रशासनिक प्रक्रिया छिट्टै पूरा गरिने विश्वास दिलाउनुभयो।

भेटका क्रममा एनआरएनएका उपमहासचिव कृष्ण पोखरेलले दोहोरो कर प्रणाली हटाउने व्यवस्था लागू भए विदेशमा रहेका नेपाली व्यवसायी तथा लगानीकर्तालाई नेपालमा लगानी गर्न थप सहज हुने र वैदेशिक लगानी आकर्षित गर्न महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभयो।

जवाफमा अर्थमन्त्री वाग्लेले सरकारले दोहोरो कर प्रणाली हटाउने सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै यसले लगानी प्रवर्द्धन, अन्तर्राष्ट्रिय आर्थिक सहकार्य विस्तार तथा विदेशमा रहेका नेपाली लगानीकर्ताका लागि थप अनुकूल वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।

भेटमा एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, फोकल पर्सन सरोज दाहाल तथा वरिष्ठ सञ्चार अधिकृत इन्द्रलक्ष्मी घिमिरेको पनि सहभागिता रहेको थियो।

सम्बन्धित समाचार