वर्षाले देशभर सडक प्रभावित, बीपी राजमार्गमा राति सवारी सञ्चालन रोक

5k Shares

काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले केही सडक पूर्ण रूपमा अवरुद्ध भएको र केहीमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

त्यस्तै कान्तिलोकपथ मा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ।

इलाम नगरपालिका–९ स्थित मेची राजमार्ग मा वर्षाका कारण सडक हिलाम्मे बनेपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।

यसैबीच, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत अरनिको राजमार्ग को जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

दोलखाको तामाकोशी गाउँपालिका–५ स्थित लामासाँघु–रामेछाप सडकखण्ड मा सामाकोशी खोलाले सडक कटान गरेपछि यातायात ठप्प भएको छ।

त्यस्तै रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित पासाङ ल्हामु राजमार्ग मा त्रिशूली नदीले सडक कटान गर्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ स्थित पृथ्वी राजमार्ग को ज्यामिरेघाट क्षेत्रमा माथिबाट ढुंगा र लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षायाममा बाढी, पहिरो र सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार