शान्ति र्यालीपछि पाकिस्तानमा आत्मघाती विस्फोट, १४ जनाको मृत्यु
18.1k
Shares
इस्लामाबाद । पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तस्थित स्वात जिल्लामा आइतबार साँझ भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार कबल प्रहरी चौकीबाहिर शक्तिशाली विस्फोट भएको थियो। पाकिस्तानका संघीय गृहमन्त्री मोहसिन नकवीले घटनालाई आत्मघाती हमला भएको पुष्टि गरेका छन्।
गृहमन्त्री नकवीका अनुसार आक्रमणकारीहरूले प्रहरी चौकीभित्र प्रवेश गरेर थप क्षति पुर्याउने प्रयास गरेका थिए। तर सुरक्षाकर्मीले उनीहरूलाई चौकीभित्र छिर्न नदिएकाले सम्भावित ठूलो क्षति हुनबाट जोगिएको उनले बताएका छन्।
स्वात क्षेत्रमा पछिल्लो समय बढ्दै गएको आतंकवादी गतिविधिको विरोधमा स्थानीयवासीले शान्ति र्याली आयोजना गरेको केही समयपछि उक्त विस्फोट भएको बताइएको छ।
घटनापछि गृहमन्त्री नकवीले आत्मघाती हमलाको कडा शब्दमा निन्दा गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने सुरक्षा निकायले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।