वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्न लागिएको ‘अत्यधिक ठूलो’ सैन्य आक्रमण अन्तिम समयमा रोक्दै सोमबारदेखि तेहरानसँग नयाँ चरणको वार्ता सुरु हुने बताएका छन्।
राष्ट्रपति चढ्ने विशेष विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानले सम्भावित आक्रमणको तयारीबारे जानकारी पाइसकेको र त्यसैबीच वार्तामार्फत समाधान खोज्ने प्रयास भइरहेको बताए।
“उनीहरूलाई आक्रमणको भयावहताबारे थाहा थियो, किनकि उनीहरूले त्यसको तयारी देखिसकेका थिए। हामी उनीहरूसँग वार्ताको माध्यमबाट संवाद गर्दैछौँ, जुन सोमबार दिउँसोदेखि सुरु हुनेछ,” ट्रम्पले भने।
यसअघि आफ्नो सामाजिक सञ्जालमा सन्देश सार्वजनिक गर्दै ट्रम्पले इरान तथा मध्यपूर्वका सहयोगी राष्ट्रहरूको अनुरोधमा सम्भावित सम्झौताको प्रारम्भिक खाका तयार भएकाले सैन्य आक्रमण स्थगित गरिएको बताएका थिए।
उनले सम्झौताका लागि कुनै निश्चित समयसीमा नराखिएको उल्लेख गर्दै आफू अनावश्यक रूपमा मानिसहरूको ज्यान लिन नचाहेको बताए।
ट्रम्पका अनुसार साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानसहित संयुक्त अरब इमिरेट्स र कतारका नेतृत्वले पनि सप्ताहन्तमा इरानमाथि सैन्य कारबाही नगर्न आग्रह गरेका थिए।
“हामी आक्रमणका लागि पूर्ण रूपमा तयार थियौँ,” ट्रम्पले भने, “तर होर्मुज जलडमरूमध्य र इरानको आणविक कार्यक्रमसँग सम्बन्धित विषयमा सम्झौताको सम्भावना देखिएकाले सहयोगी राष्ट्रहरूले आक्रमण रोक्न आग्रह गरेका हुन्।”
उनले वार्तामार्फत समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको दोहोर्याउँदै कूटनीतिक प्रयासलाई प्राथमिकता दिइएको बताए। यदि वार्ता सफल भए मध्यपूर्वमा बढ्दो तनाव कम हुन सक्ने अपेक्षा गरिएको छ भने असफल भए अन्य विकल्पबारे पनि विचार गरिने संकेत ट्रम्पले दिएका छन्।