नाम्सीमा ढुङ्गा खस्यो, नारायणगढ–मुग्लिन सडकमा एकतर्फी मात्रै यातायात सञ्चालन
1.7k
Shares
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नाम्सी नयाँ पुल क्षेत्रमा सोमबार बिहान ढुङ्गा खस्दा यातायात सेवा प्रभावित भएको छ। हाल उक्त सडकखण्डमा एकतर्फी मात्रै सवारी आवागमन सञ्चालन भइरहेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार सडकमा खसेको ढुङ्गा पन्छाउने काम तत्काल सुरु गरिएको छ। थप ढुङ्गा नखसेमा केही समयमै सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो।
प्रहरीले यो सडकखण्ड पहिरो र ढुङ्गा खस्ने उच्च जोखिममा रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन चालक तथा यात्रुलाई आग्रह गरेको छ।
मनसुन सक्रिय रहेकाले नारायणगढ–मुग्लिन सडकखण्डमा बेला–बेलामा पहिरो र ढुङ्गा खस्ने घटना दोहोरिने गरेको छ। त्यसैले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न र सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न पनि प्रहरीले अनुरोध गरेको छ।