चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा विभिन्न स्थानमा खसेको लेदोसहितको पहिरो पन्छाएपछि सडक पुनः दुवैतर्फी रूपमा सञ्चालनमा आएको छ।
आज बिहान तुइनखोला, नाम्सीखोला, सिमलताल, १५ किलो र १७ किलो क्षेत्रमा लेदोसहितको पहिरो खस्दा सडक आंशिक रूपमा अवरुद्ध भएको थियो। केही स्थानमा सडक पूर्ण रूपमा एकतर्फी बनेको थियो भने अन्य ठाउँमा लेदो सडकको छेउमा थुप्रिएको थियो।
डिभिजन सडक कार्यालय, चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनखोला, नाम्सीखोला र सिमलतालमा खसेको पहिरोका कारण एकतर्फी यातायात सञ्चालन भइरहेको थियो। सडकमा थुप्रिएको लेदो र पहिरो हटाउने काम सम्पन्न भएपछि बिहान १० बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो।
तुइनखोलामा खसेको पहिरो त्यहाँ निर्माण कार्य गरिरहेको कम्पनीले आफ्नै उपकरणमार्फत हटाइरहेको छ भने अन्य स्थानको पहिरो मुग्लिन र सेतीदोभानमा रहेका हेभी उपकरण प्रयोग गरेर पन्छाइएको सडक कार्यालयले जनाएको छ।
हाल सडक क्षेत्रमा सिमसिम वर्षा भइरहेकाले पुनः पहिरो खस्ने जोखिम कायम रहेको इन्जिनियर घिमिरेले बताएका छन्। त्यसैले उक्त सडकखण्डबाट यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई उच्च सतर्कता अपनाउन र आवश्यक सावधानीसहित यात्रा गर्न आग्रह गरिएको छ।