काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ जन्दानसातारबीच सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ।
भेटमा नेपाल–मङ्गोलिया द्विपक्षीय सम्बन्ध, व्यापार, विकास, बौद्ध सम्पदा तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। परराष्ट्रमन्त्री खनालले नेपाल र मङ्गोलियाबीच भूराजनीतिक रूपमा धेरै समानता रहेको उल्लेख गर्दै विकास, व्यापार, साझेदारी तथा बौद्ध मूल्यमान्यताका क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको बताउनुभयो।
उहाँले दुवै भूपरिवेष्टित राष्ट्रले अन्तर्राष्ट्रिय मञ्चमा साझा हित र अधिकारका पक्षमा संयुक्त रूपमा आवाज उठाउन सक्ने धारणा पनि व्यक्त गर्नुभयो।
जवाफमा पूर्वप्रधानमन्त्री जन्दानसातारले बदलिँदो विश्व व्यवस्थामा नेपाल र मङ्गोलियाजस्ता साना राष्ट्रबीच सहकार्य अझ आवश्यक भएको उल्लेख गर्दै साझा बौद्ध संस्कृति र भौगोलिक समानताले सम्बन्धलाई थप मजबुत बनाउन सक्ने बताउनुभयो। उहाँले नेपालमा चेस खेलको विकासमा सहकार्य गर्न मङ्गोलिया इच्छुक रहेको पनि जानकारी दिनुभयो।
विद्यालय शिक्षामा चेस प्रवर्द्धन गर्ने विषयमा पनि छलफल
उता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री तथा मङ्गोलियन चेस फेडेरेसनका अध्यक्ष गोम्बोजभ जन्दानसातारबीच पनि सोमबार भेटवार्ता भएको छ।
भेटमा विद्यालय शिक्षामा चेस खेललाई प्रवर्द्धन गर्ने, नेपाल र मङ्गोलियाबीच खेलकुद सहकार्य विस्तार गर्ने तथा नेपाल चेस महासङ्घ र मङ्गोलियन चेस फेडेरेसनबीच सहकार्यको वातावरण तयार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
मन्त्री पोखरेलले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षा र खेलकुदमार्फत द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउने धारणा राख्नुभयो। पूर्वप्रधानमन्त्री जन्दानसातारले चेस केवल खेल नभई शिक्षाको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै मङ्गोलियाले विद्यालय तहदेखि नै चेस शिक्षालाई समेटेर सफल अभ्यास गरिरहेको अनुभव नेपालसँग साझेदारी गर्न तयार रहेको बताउनुभयो।
मोरक्कोसँग कृषि, ऊर्जा र पर्यटन सहकार्यबारे छलफल
यसैबीच परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि मोरक्कोका गैरआवासीय राजदूत मोहम्मद मलिकीले शिष्टाचार भेट गर्नुभएको छ। भेटका क्रममा नेपाल–मोरक्कोबीच पाँच दशकभन्दा लामो कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने, रासायनिक मल आपूर्ति, कृषि, नवीकरणीय ऊर्जा, पर्यटन, संस्कृति, यातायात, सम्पर्क सञ्जाल तथा तालिम र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
राजदूत मलिकी मोरक्कोका राजा मोहम्मद छैटौँको गद्दी आरोहणको २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय दिवसका अवसरमा आयोजित सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन कार्यक्रमका लागि नेपाल भ्रमणमा आउनुभएको हो। नेपाल र मोरक्कोबीच सन् १९७५ देखि कूटनीतिक सम्बन्ध कायम छ।