मस्को । दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा ड्रोन खस्दा तीन जना बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।
रुसको क्रास्नोदार क्षेत्रका गभर्नर वेनियामिन कोन्द्रात्येभका अनुसार घाइतेमध्ये १७ जनाको अस्पतालमा उपचार भइरहेको छ। उनले युक्रेनले सर्वसाधारणलाई लक्षित गरी जानाजानी ड्रोन आक्रमण गरेको आरोप लगाएका छन्। युक्रेनले भने घटनाबारे औपचारिक प्रतिक्रिया दिएको छैन।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा पर्यटकले भरिएको समुद्री किनारनजिकै तीव्र गतिमा आएको ड्रोन भिरमा ठोक्किएपछि ठूलो विस्फोट भएको देखिन्छ। घटना काला सागर नजिकैको आर्खिपो–ओसिपोभ्का गाउँको लोकप्रिय समुद्री तटमा भएको बताइएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणअघि कुनै हवाई खतराको साइरन बजाइएको थिएन। ड्रोनको वास्तविक लक्ष्य के थियो भन्ने अझै स्पष्ट हुन सकेको छैन। केही युक्रेनी सञ्चारमाध्यमहरूले इलेक्ट्रोनिक वारफेयर प्रणालीका कारण ड्रोन लक्ष्यबाट विचलित भई समुद्री किनारमा खसेको दाबी गरेका छन्।

स्थानीय रुसी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार विस्फोटअघि गोली चलेको आवाज सुनिएकाले रुसी हवाई प्रतिरक्षा प्रणालीले ड्रोन खसाल्ने प्रयास गरेको हुन सक्ने अनुमान गरिएको छ।
रुस–युक्रेन युद्धका क्रममा पछिल्लो समय युक्रेनले रुसी भूभागभित्र रहेका ऊर्जा पूर्वाधार र सैन्य गोदामहरूमा लामो दूरीका ड्रोन आक्रमण तीव्र बनाएको छ। अर्कोतर्फ, रुसले सन् २०२२ फेब्रुअरीदेखि सुरु गरेको पूर्ण युद्धयता युक्रेनका विभिन्न सहरमा क्षेप्यास्त्र र ड्रोन आक्रमण जारी राखेको छ।
गत शनिबार मात्रै रुसले युक्रेनको राजधानी किभमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको थियो। यस घटनाले दुवै देशबीचको युद्ध अझ उग्र बन्दै गएको संकेत गरेको छ।