ब्राजिलियन एमएमए फाइटर एलान नासिमेन्टोको ३४ वर्षमै निधन
2.3k
Shares
काठमाडौं । मिक्स्ड मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर एलान नासिमेन्टोको ३४ वर्षको उमेरमा निधन भएको छ। उल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी) ले सोमबार उनको निधन भएको पुष्टि गरेको हो।
यूएफसीका अनुसार फ्लाइवेट डिभिजनका फाइटर नासिमेन्टो सोमबार बिहान सुतेकै अवस्थामा हृदयघात भएपछि अचेत अवस्थामा फेला परेका थिए। तत्काल स्वास्थ्यकर्मीको टोली पुगे पनि उनलाई बचाउन नसकिएको र घटनास्थलमै मृत घोषणा गरिएको यूएफसीले जनाएको छ।
यूएफसीले जारी गरेको विज्ञप्तिमा नासिमेन्टोका परिवार, साथीभाइ, प्रशिक्षक, टोलीका सदस्य तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
ब्राजिलका नासिमेन्टो सन् २०२१ देखि यूएफसीसँग आबद्ध थिए। उनले गत जुन महिनामा मिच रापोसोविरुद्ध आफ्नो अन्तिम प्रतिस्पर्धा खेलेका थिए, जहाँ उनी स्प्लिट डिसिजनका आधारमा पराजित भएका थिए।
नासिमेन्टोले आफ्नो व्यावसायिक एमएमए करिअरमा २२ जित र ७ हारको उत्कृष्ट कीर्तिमान बनाएका थिए। यूएफसीमा भने उनले ४ जित र २ हारको रेकर्ड कायम गरेका थिए।
उनको अकस्मात् निधनले विश्व एमएमए समुदाय र खेलप्रेमीलाई स्तब्ध बनाएको छ।