काठमाडौं । युगान्डाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा भएको ऐतिहासिक बन्धक उद्धार अभियानका क्रममा मारिएका इजरायली कमान्डो तथा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका दाजु लेफ्टिनेन्ट कर्नेल योनातान नेतान्याहुको सम्मानमा स्मारक अनावरण गरेको छ।
युगान्डाका सैन्य प्रमुख जनरल मुहोजी कैनेरुगाबाले शनिबार एन्टेबे अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा योनातान नेतान्याहुको पूर्णकद सालिक अनावरण गरेका हुन्। कार्यक्रममा युगान्डामा रहेका इजरायली समुदायका प्रतिनिधि तथा व्यवसायी बराक ओरल्यान्ड पनि सहभागी थिए। कैनेरुगाबा राष्ट्रपति योवेरी मुसेभेनीका जेठा छोरा तथा सम्भावित उत्तराधिकारीका रूपमा पनि हेरिन्छन्।
स्मारक अनावरणपछि कैनेरुगाबाले योनातान नेतान्याहुको योगदान केवल एक सैनिकको वीरतासम्म सीमित नभई निर्दोष नागरिकको सुरक्षाका लागि गरिएको साहस, कर्तव्यनिष्ठा र समर्पणको प्रतीक भएको बताए।
एन्टेबे अभियान किन ऐतिहासिक बन्यो ?
सन् १९७६ मा एयर फ्रान्सको एक विमान अपहरण गरी युगान्डाको एन्टेबे विमानस्थलमा अवतरण गराइएको थियो। दुई प्यालेस्टिनी र दुई जर्मन अपहरणकर्ताले विमानमा रहेका यहुदी तथा इजरायली यात्रुहरूलाई छुट्याएर इजरायलले प्यालेस्टिनी बन्दी रिहा नगरे उनीहरूको हत्या गर्ने चेतावनी दिएका थिए।
करिब एक साताको वार्तापछि इजरायलले जुलाई ३, १९७६ मा विशेष कमान्डो अभियान सञ्चालन गरेको थियो। इजरायली सेनाले विमानस्थलमा प्रवेश गरी अधिकांश बन्धकलाई सकुशल उद्धार गर्न सफल भएको थियो।
उद्धार अभियानका क्रममा तीन बन्धकको मृत्यु भएको थियो भने अभियानको नेतृत्व गरिरहेका योनातान नेतान्याहु मारिने एकमात्र इजरायली कमान्डो बनेका थिए। एक घण्टाभन्दा कम समय चलेको उक्त कारबाहीमा दर्जनौँ युगान्डाली सैनिक पनि मारिएका थिए।
त्यतिबेला युगान्डामा इदी अमिनको शासन थियो। उनले इजरायलसँग सम्बन्ध विच्छेद गरी प्यालेस्टिनी आन्दोलनलाई समर्थन गरेका थिए। सफल उद्धार अभियानले अमिनको शासनलाई अन्तर्राष्ट्रिय रूपमा दबाबमा पारेको मानिन्छ, यद्यपि तत्कालीन अफ्रिकी एकताको सङ्गठनले इजरायलको कारबाहीलाई युगान्डाको सार्वभौमसत्तामाथिको हस्तक्षेप भन्दै आलोचना गरेको थियो।
इजरायलको सैन्य इतिहासमा एन्टेबे उद्धार अभियान सबैभन्दा सफल विशेष सैन्य कारबाहीमध्ये एक मानिन्छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसअघि आफ्ना दाजु योनातानको मृत्युले आफ्नो जीवन र राजनीतिक यात्रामा गहिरो प्रभाव पारेको बताउँदै आएका छन्।
हाल युगान्डा र इजरायलबीच मैत्रीपूर्ण सम्बन्ध कायम छ भने राष्ट्रपति योवेरी मुसेभेनीले इजरायल–प्यालेस्टाइन द्वन्द्वको समाधानका लागि दुई–राष्ट्र अवधारणाको समर्थन गर्दै आएका छन्।