अमेरिका–इरान वार्ता- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन सातायताकै न्यून
15.2k
Shares
काठमाडौं । अमेरिका र इरानबीच रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्ने विषयमा वार्ता सकारात्मक दिशामा अघि बढेको संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन सातायताकै न्यून स्तरमा झरेको छ।
मंगलबार ब्रेन्ट कच्चा तेलको मूल्य करिब ५ प्रतिशतले घटेर प्रतिव्यारेल ८० अमेरिकी डलरभन्दा तल पुगेको छ। त्यसैगरी, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (WTI) को मूल्य पनि ५ प्रतिशतभन्दा बढी घटेर प्रतिव्यारेल ७६ डलरमा कारोबार भएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अर्थमन्त्री स्कट बेसेन्टले होर्मुज जलडमरूमार्गमार्फत जहाज आवतजावत पुनः सुचारु गर्ने विषयमा उल्लेखनीय प्रगति भएको र मंगलबार वा बुधबारसम्म सम्झौता हुन सक्ने बताएका छन्।
यद्यपि, इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता नभएको स्पष्ट पार्दै ओमानको मध्यस्थतामा छलफल भइरहेको जनाएको छ।
फेब्रुअरीको अन्त्यदेखि सुरु भएको अमेरिका–इरान तनावपछि इरानले होर्मुज जलडमरूमार्गमा अधिकांश जहाजको आवतजावत रोकेको थियो भने अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी गर्दै आएको छ।
यसैबीच, इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको लाल सागर क्षेत्रका बन्दरगाहहरूमा समेत नाकाबन्दी गरेपछि वैकल्पिक समुद्री व्यापार मार्गसमेत प्रभावित भएको छ। तर, होर्मुज पुनः सञ्चालन हुने सम्भावना बढेसँगै विश्व ऊर्जा आपूर्तिमा सहजता आउने अपेक्षाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको विश्लेषण गरिएको छ।