अमेरिकी सैन्य आधारमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

15.3k Shares

सियोल । दक्षिण कोरियामा रहेको अमेरिकी सैन्य आधार शिविरमा गैरकानुनी रूपमा प्रवेश गरेको आरोपमा आठ जना दक्षिण कोरियाली विद्यार्थी पक्राउ परेका छन्। पक्राउ पर्ने क्रममा उनीहरूले अमेरिका विरोधी नारा लगाएको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन्।

राजधानी सियोलनजिक रहेको ओसान एयर बेसमा प्रवेश गरेको आरोपमा अमेरिकी सैन्य कर्मचारीले चार पुरुष र चार महिला विद्यार्थीलाई नियन्त्रणमा लिएका थिए। त्यसपछि उनीहरूलाई थप अनुसन्धानका लागि दक्षिण कोरियाली प्रहरीको जिम्मा लगाइएको हो।

दक्षिण कोरियाली प्रहरीले सैन्य संरचनासम्बन्धी सुरक्षा कानुनअन्तर्गत घटनाको अनुसन्धान भइरहेको जनाएको छ। सोधपुछका क्रममा सबै विद्यार्थीले आफ्नो कानुनी अधिकार प्रयोग गर्दै बयान दिन अस्वीकार गरेका छन्।

प्रहरीका अनुसार विद्यार्थीहरूले घटनास्थलमा ‘अमेरिकी सातौँ वायुसेनालाई ध्वस्त पारौँ’ लगायतका अमेरिका विरोधी नारा लगाएका थिए।

अमेरिकी सेनाले जारी गरेको विज्ञप्तिमा उक्त समूहले आधार शिविरको मुख्य प्रवेशद्वारबाट अनधिकृत रूपमा प्रवेश गर्ने प्रयास गरेको उल्लेख गर्दै अमेरिकी सैन्य संरचनामा गैरकानुनी प्रवेशको प्रयासलाई गम्भीर रूपमा लिइने जनाएको छ। घटनालाई अमेरिकी र दक्षिण कोरियाली कानुनअनुसार सम्बोधन गरिने सेनाको भनाइ छ।

यसैबीच, कोरियन प्रोग्रेसिभ युनिभर्सिटी स्टुडेन्ट युनियनले सामाजिक सञ्जालमार्फत पक्राउ परेका विद्यार्थी आफ्ना सदस्य रहेको जनाएको छ। समूहका अनुसार उनीहरूले दक्षिण कोरियाको सेमीकन्डक्टर क्लस्टर परियोजनामा अमेरिकी सेनाको भूमिकाको विरोध गर्न प्रदर्शन गर्ने तयारी गरेका थिए।

दक्षिण कोरियाली प्रहरीले उक्त दाबीबारे टिप्पणी गर्न अस्वीकार गरेको छ भने अमेरिकी सेनाले पनि यस विषयमा थप प्रतिक्रिया दिएको छैन। स्थानीय समाचार एजेन्सी योन्हापका अनुसार अमेरिकाले सेमीकन्डक्टर परियोजनाका कारण स्थानान्तरण हुन लागेको सैन्य विमानस्थलप्रति विशेष चासो देखाउँदै आएको छ।

हाल उत्तर कोरियाबाट हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै दक्षिण कोरियामा करिब २८ हजार ५०० अमेरिकी सैनिक तैनाथ छन्। सन् १९५०–५३ को कोरियाली युद्धपछि भएको युद्धविरामदेखि नै दक्षिण कोरियामा अमेरिकी सैन्य उपस्थिति कायम छ।

यद्यपि अधिकांश दक्षिण कोरियाली नागरिकले अमेरिका–दक्षिण कोरिया सैन्य गठबन्धनलाई समर्थन गरे पनि अमेरिकी सैन्य उपस्थिति र केही नीतिगत विषयलाई लिएर समय–समयमा अमेरिका विरोधी प्रदर्शन हुने गरेका छन्। सन् २०१९ मा पनि अमेरिकी सैन्य खर्चसम्बन्धी विवादको विरोध गर्दै अमेरिकी राजदूतको निवासमा प्रवेश गरेका चार दक्षिण कोरियाली विद्यार्थी पक्राउ परेका थिए।

सम्बन्धित समाचार