सुनकोसी दुर्घटनाको विरोधमा तेस्रो दिन पनि मध्यपहाडी लोकमार्ग अवरुद्ध, बेपत्ताको खोजी जारी

1.2k Shares

काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा भएको सवारी दुर्घटनापछि सुनकोसी नदीमा बेपत्ता भएका तीन जनाको खोजी कार्य बुधबार पनि जारी रहेको छ। घटनाको विरोधमा पीडित परिवार, आफन्त र स्थानीयवासीले तेस्रो दिन पनि मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका छन्।

आन्दोलनकारीले बुधबार बिहानदेखि खुर्कोट–घुर्मी सडकखण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–१ र फिक्कल गाउँपालिका–२ को सिमानामा पर्ने वाक्सुखोला पुलमा चक्काजाम गर्दै यातायात ठप्प पारेका हुन्।

पीडित पक्षले दुर्घटना भएको तीन दिन बितिसक्दा पनि बसधनी र बस सञ्चालन समितिले घटनाप्रति बेवास्ता गरेको आरोप लगाएका छन्। उनीहरूले बेपत्ता व्यक्तिको शीघ्र खोजी, पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै आन्दोलन जारी राखेका हुन्।

गोलन्जोर गाउँपालिका–१ का वडाध्यक्ष सोमप्रसाद बरालका अनुसार सोमबार दिउँसो दुर्घटना भएयता उक्त सडकखण्डमा नियमित यातायात सञ्चालन हुन सकेको छैन। बुधबार पनि आन्दोलनकारी बिहानैदेखि सडकमा उत्रिएपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको उहाँले बताउनुभयो।

तीन दिनदेखि सडक बन्द हुँदा खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, उदयपुरलगायत पूर्वी पहाडी जिल्लाबाट काठमाडौं आउने–जाने सयौं यात्रु र सवारीसाधन बाटोमै अलपत्र परेका छन्।

इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक विष्णु पौडेलले अवरुद्ध सडक खुलाउने प्रयास भइरहे पनि छलफलका लागि बोलाइएका बसधनी र बस सञ्चालन समितिका प्रतिनिधि अहिले सम्पर्कविहीन रहेको जानकारी दिनुभयो।

उहाँका अनुसार सुनकोसी नदीमा खसेको कार र बेपत्ता भएका तीन जनाको खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली, नेपाल प्रहरी र स्थानीयवासी परिचालन गरिएको छ। खोजी कार्यमा ड्रोन र म्याग्नेटको समेत प्रयोग गरिएको भए पनि हालसम्म कुनै सफलता हात लागेको छैन।

प्रहरीले नदीमा पानीको बहाव अत्यधिक भएकाले खोजी कार्य चुनौतीपूर्ण बनेको जनाएको छ।

सोमबार बिहान ११ः४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले सडक किनारमा रोकिएको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिँदा कार करिब ५० फिट तल सुनकोसी नदीमा खसेको थियो।

दुर्घटनामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ निवासी ३९ वर्षीय निर्माण व्यवसायी दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी २८ वर्षीय स्काभेटर चालक गणेश थापा र तीनपाटन गाउँपालिका–९ निवासी १७ वर्षीय सुजन बलम्पाकी मगर कारसहित नदीमा बेपत्ता भएका छन्।

प्रहरीले दुर्घटनामा संलग्न बस र बस चालक फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार