प्रहोवो (सर्बिया)। युरोपको दोस्रो लामो डेन्यूब नदीमा खडेरीका कारण पानीको सतह ऐतिहासिक रूपमा घटेपछि दोस्रो विश्वयुद्धका बेला डुबाइएका दर्जनौँ जर्मन युद्धपोत फेरि सतहमा देखिन थालेका छन्। नदीको जलस्तर घटेसँगै नौवहन, ऊर्जा उत्पादन र नदी यातायातमा समेत असर परेको छ।
सर्बियाको प्रहोवो बन्दरगाह नजिक, सर्बिया–रोमानिया सीमाक्षेत्रमा डुबाइएका युद्धपोतका खिया लागेका संरचना अहिले नदीमाथि देखिन थालेका छन्। केही जहाजमा नाजी झण्डा फहराइएका भाँचिएका खम्बासमेत अझै देख्न सकिन्छ। तीमध्ये कतिपयमा अहिले पनि विस्फोटक तथा अन्य हतियार रहेको विश्वास गरिन्छ।
इतिहासकारहरूका अनुसार सन् १९४४ को सेप्टेम्बरमा सोभियत सेनाको अग्रगमन रोक्ने उद्देश्यले नाजी जर्मनीले डेन्यूब नदीको प्रहोवो क्षेत्र नजिक करिब २०० युद्धपोत जानाजानी डुबाएको थियो। तर केही महिनापछि, सन् १९४५ को मेमा नाजी जर्मनीले आत्मसमर्पण गरेको थियो।

युद्ध समाप्तिपछि ती जहाज हटाउने प्रयास भए पनि अधिकांशमा अझै विस्फोटक सामग्री रहेको आशंकाले उद्धार कार्य जटिल बन्दै आएको छ। कम्युनिस्ट शासनकालमा तत्कालीन युगोस्लाभियाले केही युद्धपोत हटाएको भए पनि धेरै अझै नदीमै बाँकी छन्।
हाल युरोपेली सङ्घ (ईयू) को आर्थिक सहयोगमा सर्बियाले नदीलाई सुरक्षित र सहज बनाउने अभियान अघि बढाइरहेको छ। १० युरोपेली मुलुक हुँदै बग्ने डेन्यूब नदी महत्त्वपूर्ण जलमार्ग मानिन्छ। तर यस वर्षको अत्यधिक गर्मी र खडेरीका कारण जलस्तर उल्लेखनीय रूपमा घटेपछि नदी यातायात प्रभावित भएको छ।
पानीको अभावले केही जलविद्युत् उत्पादन केन्द्रको सञ्चालनमा समेत असर परेको छ। मध्य तथा पूर्वी युरोपका केही देशले ऊर्जा बचतका उपाय अपनाउन थालेका छन्। विज्ञहरूले असामान्य गर्मी र खडेरीलाई जलवायु परिवर्तनलगायत वातावरणीय कारणसँग जोड्दै आएका छन्।
प्रहोवोका स्थानीय बासिन्दा क्रिस्टा ब्रान्डिकका अनुसार नदीको पानी अत्यधिक घटेकाले ठूला जहाजको आवागमन लगभग ठप्प भएको छ भने नदी पार गर्नसमेत कठिनाइ हुन थालेको छ।