फिफा अध्यक्ष इन्फान्टिनोको माफी, राजीनामा नदिने अडान

116.9k Shares

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले प्रतियोगिताको व्यावसायिक अधिकारमा निजी लगानीकर्तालाई सहभागी गराउने विवादित योजनासम्बन्धी प्रक्रियागत त्रुटि स्वीकार गर्दै माफी मागेका छन्। यद्यपि, उनले अध्यक्ष पदबाट राजीनामा नदिने र आफ्नो कार्यकाल पूरा गर्ने स्पष्ट पारेका छन्।

मोरक्कोको रबातस्थित फिफाको अफ्रिकी कार्यालयमा बुधबार बसेको व्यवस्थापन बोर्डको आकस्मिक बैठकपछि इन्फान्टिनोले आफ्नो निर्णयका क्रममा त्रुटि भएको स्वीकार गरेका हुन्। बैठक सकिएको केही घण्टापछि फिफाले जारी गरेको विज्ञप्तिमा व्यवस्थापन बोर्डले इन्फान्टिनोप्रति पूर्ण समर्थन कायम रहेको जनाएको छ।

प्रतियोगितामा निजी लगानी भित्र्याउने उद्देश्यले अघि सारिएको ‘फिफा फरवार्ड इन्टरप्राइज (एफएफई)’ प्रस्तावलाई पारदर्शी प्रक्रिया नअपनाई अघि बढाइएको भन्दै युरोपेली फुटबल महासंघ (युइएफए) ले इन्फान्टिनोप्रतिको विश्वास गुमाएको घोषणा गरेको थियो। फिफाका महासचिव म्याथियास ग्राफस्ट्रोमले समेत घटनाक्रमलाई दुःखद र निन्दनीय भनेका थिए।

FIFA-President-Gianni-Infantino.png

तर, आकस्मिक बैठकपछि ग्राफस्ट्रोमसहित फिफा व्यवस्थापन बोर्डले इन्फान्टिनोको नेतृत्वप्रति पुनः समर्थन जनाएका छन्। इन्फान्टिनो र ग्राफस्ट्रोमले संयुक्त रूपमा फिफाका उपाध्यक्ष, काउन्सिल सदस्य तथा २११ सदस्य राष्ट्रका फुटबल संघलाई पत्र पठाउँदै प्रक्रियागत कमजोरीप्रति क्षमा मागेका छन्। साथै भविष्यमा यस्ता त्रुटि दोहोरिन नदिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

इन्फान्टिनोले पुरुष तथा महिला विश्वकपलगायत प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्तावको समर्थन गरेबापत प्रत्येक सदस्य संघलाई ४ करोड अमेरिकी डलर उपलब्ध गराउने योजना अघि सारेका थिए। तर, प्रस्ताव सार्वजनिक हुनुअघि फिफा काउन्सिल र सदस्य संघलाई पर्याप्त जानकारी नदिइएको भन्दै व्यापक असन्तोष चुलिएको थियो।

विवादका बीच क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले इन्फान्टिनोप्रति विश्वास नरहेको बताएका छन् भने पोर्चुगलका पूर्वस्टार फुटबलर लुइस फिगोले उनको तत्काल राजीनामा माग गरेका छन्।

यद्यपि, ५६ वर्षीय इन्फान्टिनोले सन् २०२७ को मार्चमा मोरक्कोमा हुने फिफा अध्यक्षको निर्वाचनमा चौथो कार्यकालका लागि पुनः उम्मेदवारी दिने तयारी गरिरहेको जनाएका छन्।

सम्बन्धित समाचार