काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमालमा गएको हिमपहिरोमा ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ को अन्तिम बिदाइ बेलायतमा गरिने भएको छ। परिवार बेलायतको लन्डनमा बसोबास गर्दै आएकाले धार्मिक परम्पराअनुसार अन्त्येष्टि त्यहीँ गरिने जनाइएको छ।
गत साउन १४ गते ब्रड पिक आरोहणका क्रममा आएको भीषण हिमपहिरोमा परी पुर्जाको निधन भएको थियो। दुर्घटनाका बेला उनी १० सदस्यीय आरोही टोलीको नेतृत्व गरिरहेका थिए।
पुर्जाको शव साउन १७ गते पहिचान भए पनि प्रतिकूल मौसम र शव अत्यन्त कठिन स्थानमा रहेकाले उद्धारमा ढिलाइ भएको थियो। बुधबार मात्रै उनको शव सुरक्षित रूपमा बेसक्याम्पमा ल्याइएको हो।
पुर्जाका दाजु कमलबहादुर पुर्जाका अनुसार लन्डनमा धार्मिक विधिअनुसार अन्त्येष्टि सम्पन्न भएपछि जन्मभूमि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना तथा बाल्यकाल बिताएको चितवनमा पनि उनको सम्झनामा विशेष कार्यक्रम गरिनेछ।
उनले परिवारको अवस्था र आवश्यक कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले अन्त्येष्टिको मिति तय गर्न केही समय लाग्ने बताए।
निर्मल पुर्जाको कम्पनी एलिट एक्सपिडिसनले बुधबार जारी गरेको विज्ञप्तिमा पुर्जासहित निमा शेर्पा, झोङ वाङ र किलु शेर्पाको शव अत्यन्त चुनौतीपूर्ण उद्धार अभियानपछि ब्रड पिकबाट निकालेर बेसक्याम्पमा ल्याइएको उल्लेख गरेको छ। ती शव शुक्रबार राति वा शनिबारसम्म लन्डन पुर्याइने तयारी रहेको कम्पनीले जनाएको छ।
शव उद्धार अभियानमा पाकिस्तान सरकार, पाकिस्तान आर्मी, ब्रिटिस हाइकमिसन, गिल्गिट–बाल्टिस्तान सरकार, नेपाल दूतावास तथा अल्पाइन क्लब अफ पाकिस्तानले सहयोग गरेका थिए।
निर्मल पुर्जा सन् २००३ मा पोखरास्थित ब्रिटिस क्याम्पमार्फत ब्रिटिस सेनामा भर्ती भएका थिए। उनले बेलायतको क्याट्रिकस्थित आर्मी ट्रेनिङ सेन्टरमा आधारभूत सैनिक तालिम पूरा गरी क्विन्स गोर्खा इन्जिनियर्समा सेवा गरेका थिए।
पछि बेलायतको रक्षा मन्त्रालयमा पर्वतीय विशेषज्ञका रूपमा कार्यरत रहँदा उनले ‘गोर्खा एक्सपिडिसन २०१७’ अन्तर्गत १३ जना ब्रिटिस गोर्खाको सगरमाथा आरोहणको नेतृत्व गरेका थिए। सगरमाथा आरोहणका क्रममा जोखिममा परेका एक आरोहीको सफल उद्धार गरेपछि उनी बेलायती महारानीबाट ‘एमबीई’ सम्मान प्राप्त गर्ने पहिलो नेपाली बनेका थिए।
निर्मल पुर्जाले अतिरिक्त अक्सिजनबिना विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल सबैभन्दा छोटो समयमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। पाकिस्तानको केटु (K2) हिमालमा पनि उनले ऐतिहासिक कीर्तिमान बनाएका थिए। उनका नाममा हाल १८ वटा गिनिज वर्ल्ड रेकर्ड दर्ता छन्।